‘झलनाथको आन्दोलनले गोरु ब्याउने रे’


२३ कात्तिक, काठमाडौं ।
‘भनभन भाइ हो-सहमति
भनभन बहिनी हो-सहमति
बिहान गर्यौं-सहमति
दिउँसै तोड्यौं-सहमति
साँझमा नयाँ-सहमति
रातिमै छोड्यौं-सहमति…….’
अबको केही दिनमा यस्तै भाका र शैलीको देउसीभैलो सुन्न पाइने भएको छ । हरेक वर्षको तिहारमा व्यंग्यात्मक शैलीमा देउसीभैलो गर्दै आएको सिस्नुपानी नेपालले यसवर्ष पनि यसलाई निरन्तरता दिएको छ । यतिबेला सिस्नुपानी नेपालका कलाकारहरु देउसेको तयारीमा व्यस्त छन् । ‘अघिल्ला वर्षहरु जस्तै यसपाली पनि राजनीतिक घटनाक्रम र सामाजिक विषयवस्तुलाई व्यंग्य गरेर हामी देउसीभैलो प्रस्तुत गर्ने तयारीमा छौं’ सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले अनलाइनखबरसित भन्नुभयो-’देउसीमा भट्याउनको लागि शब्द तयार भएका छन् ।’
राजनीतिक दलहरुले रातदिन भन्ने गरेको सहमतिलाई सिस्नुपानीको देउसीमा बढी व्यंग्य गरिएको छ । ‘सहमति शब्द सुनेर पनि हिजोआज धेरैजना वाक्क भैसकेका छन्, त्यसैले सुन्दा पनि व्यंग्य भैसकेको यो कुरालाई देउसीमा बढी केन्दि्रत गरेका छौं’ गाम्नागेले भन्नुभयो ।
यसबाहेक संविधानसभा भंगपछिको अवस्था, खुलेका नयाँ पार्टी, प्रधानमन्त्रीको गाउँ जाने कार्यक्रम, पूर्व राजाको भ्रमण, कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुको गतिबिधि लगायतका राजनीतिक विषयसँगै अरु सामाजिक विकृति, विसंगतिलाई पनि सिस्नुपानीको देउसीमा समेटिएको छ ।
देउसीमा सबै मुछिने
अब छिटै सहमति गर्छौं भनेर नेताहरुले भन्न थालेको होइन । वर्षौं भैसक्यो । सहमतिको भाका हाल्दाहाल्दै संविधानसभा बिघटन भयो । पहिलेजस्तै अहिले पनि दलहरु अब सहमति गछौर्ं भनेर नयाँनयाँ भाका हाल्दैछन् । साउन, भदौ, अशोज, दशैं भन्दाभन्दै उनीहरुले यो भाका धकेलेर तिहारसम्म पुर्याएका छन् । तर तिहारमा सहमति हुन्छ भन्ने आशा तिनै नेताहरुलाई पनि छैन ।
एकातिर सहमतिको कुरा गर्दै विपक्षी दलहरु आन्दोलन गर्छौं भनेर औंला उठाउँदैछन् । सिस्नुपानीको देउसीले यसलाई पनि व्यंग्य गरेको छ ।
‘आन्दोलनको आँधीबेहरी झलनाथले ल्याउने रे
यसपालीको तिहारमा गोरु ब्याउने रे….’
यस्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराई हरेक महिना गाउँमा बास बस्ने कुरालाई पनि सिस्नुपानीको देउसीमा सुन्न पाइन्छ ।
‘हामी त्यसै आएनौं बाबुरामले खटाए
अर्को महिना बास बस्ने घर खोज्न पठाए……’
संविधान बनाउन असफल सभासदहरुलाई त देउसीमा उछित्तो काढिएको छ ।
‘बानेश्वरको बाटो हिँड्न मान्छे अचेल डराउँछन्
राति राति सभासदका भूत कराउँछन्…….’
प्रधानमन्त्री, मन्त्री, सरकारका नेता, पूर्व सभासदसँगै दलहरुलाई पनि सिस्नुपानीको देउसीले व्यंग्य गरेको छ ।
‘बुढो पार्टी कांग्रेस, नेता सबै बालक
तीन्टा बुढा बालक, यसका चालक…..’
कांग्रेस मात्र होइन, माओवादी, एमाले लगायतका दल र पूर्व राजालाई समेत व्यंग्य गरेर देउसीभैलो भट्याउने तयारीमा रहेको सिस्नुपानीका अध्यक्ष गाम्नागेले बताउनुभयो । सिस्नुपानीका कलाकारले भट्याउने देउसी केही टेलिभिजन च्यानल मार्फत हेर्न पाइनेछ । सोमबार नेपाल टेलिभिजनबाट देउसीभैलो गर्ने तयारी भएको गाम्नागेले जानकारी दिनुभयो ।
राजनीतिक तथा सामाजिक विकृति, विसंगतिमाथि व्यंग्य प्रहार गर्दै आएको सिस्नुपानीले २०५५ सालदेखि हरेक तिहारमा भिन्न शैलीको देउसीभैलो गर्न थालेको हो । सिस्नुपानीको यो शैलीलाई धेरैले मन पराएका छन् ।


Please Click This Banner ==>>

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger