कास्की, माघ ९ - जिल्ला कारागार कास्कीभित्र रहेका बन्दीको साथबाट एक थान पेस्तोल र तीन राउन्ड गोली बरामद भएको छ । लागूऔषध कारोबारमा ५ महिनादेखि सजाय भोग्दै आएका गोविन्द अधिकारीको साथमा पेस्तोल र गोली भेटिएको हो । अधिकारीले आफ्नो जेब्रा झोलाभित्र कपडाले बेेरेर पेस्तोल र गोली लुकाइराखेको खानतलासीका क्रममा फेला परेको थियो ।
शंका लागेर कारागारका नाइकेले अधिकारीको झोला आइतबार राति खानतलास गर्दा पेस्तोल देखेपछि चौकीदार रमेश नेपालीलाई खबर गरेका थिए । नेपालीले कारागार इन्चार्ज प्रहरी नायब निरीक्षक नरहरि अधिकारीलाई जानकारी गराएपछि पेस्तोल र गोली बरामद भएको थियो । कारागारका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदीले बन्दीबाट हतियार फेला पारेको स्वीकारेका छन् । 'कारागार सुरक्षकर्मीले सर्च गर्दा हतियार फेला परेको हो,' कान्तिपुरको जिज्ञासामा उनले यतिमात्र भने । हतियार फेला परेपछि केहीबेर बन्दीबीच तनाव भएको थियो । घटनालत्तै कारागार शाखाले यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको थियो ।
हतियार रख्ने गोविन्दसँगै टकबहादुर सुनारलाई पनि केही समयपछि जिल्ला प्रहरी कार्यालय लगिएको थियो । घटनामा संलग्न शंकामा प्रहरीले सोमबार अर्का बन्दी डम्बरबहादुर मगरलाई छानबिन गर्न जिल्ला प्रहरीमा लगेको छ । मंसिर ८ गते पनि कारागारमा झडप हुँदा २० जना घाइते भएका थिए । कारागारभित्र कसरी हतियार पुग्यो भन्नेबारे सुरक्षा निकायबीच गम्भीर सोधखोज भइहरेको छ । 'अहिले घटनामा संलग्नसँग सोधपुक्ष हुँदै छ,' जिल्ला प्रहरीका प्रमुख शैलेस थापाले भने, 'कारागारजस्तो संवेदनशील क्षेत्रभित्र हतियार कसरी पुग्यो, त्यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।' बन्दीसँग हतियार भेटिएको बारे छानबिन गर्न सोमबार एक समिति बनेको छ । प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीको अध्यक्षतामा गठित समितिले सात दिनभित्र यथार्थ बुझेर प्रतिवेदन पेस गर्ने छ ।
0 comments:
Post a Comment