रोल्पा पुगेर प्रचण्डले भने- वैद्यजी घर फर्कनोस्


४ माघ रोल्पा । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले बेमौसममा पार्टी विभाजन गरी बाटो बिराएको भन्दै वैद्य समूहका नेताहरुलाई आफ्नो पार्टीमा र्फकन रोल्पा जिल्लाबाट आग्रह गर्नुभएको छ ।
हेलीकोप्टरमा प्रधानमन्त्रीसहित बरिष्ठ नेताहरुलाई लिएर बिहीबार रोल्पा पुग्नुभएका प्रचण्डले पार्टी विभाजनबाट क्रान्तिको अभिभारा पूरा हुन नसक्ने भन्दै क्रान्तिको उपलब्धीलाई कुनै पनि हालतमा चुक्न नदिने प्रतिवद्धतासमेत जनाउनुभयो । आफ्नो पार्टीभित्र नेताहरुवीच कुनै मतभेद नभएको विश्वास दिलाउन सबै नेताहरु रोल्पा आएको प्रचण्डले जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बताउनुभयो ।
पार्टी विभाजनले प्रतिक्रियावादी र जाली फटाहाहरुलाई खुसी बनाएको बताउँदै प्रचण्डले बलिदानको मुख्य श्रेय बनेका रोल्पालीहरुले बाटो बिराउनेहरुलाई मूल घरमा फर्काउनुपर्ने आग्रहसमेत गर्नुभएको छ । हालै सम्पन्न वैद्यपक्षको महाधिवेशनले कुनै पनि नयाँ कार्यक्रम दिन नसकेको बताउँदै प्रचण्डले कुरा मात्रै गरेर क्रान्ति नहुने बताउनुभयो ।
उहाँले नयाँ तरिकाले क्रान्तिको कार्यभार पुरा गर्नुपर्ने बताउनुभयो । पुरानै तरिकाले क्रान्ति भएमा पेरु र बर्मा हुने खतरा रहेको उहाँको तर्क थियो । नयाँ विचारले क्रान्तिलाई अगाडि बढाउनका लागि रोल्पालीहरुले फेरि योगदान गर्नुपर्ने प्रचण्डले आग्रह गर्नुभयो ।
हस्तक्षेपकारी नीतिबाट क्रान्ति गर्न सकिन्छ-प्रधानमन्त्री
प्रचण्डसँगै रोल्पा पुग्नुभएका प्रधानमन्त्री डा. बाबुुराम भट्टराईले नयाँ र क्रान्तिकारी रुपान्तरणसहितको पार्टी निर्माण गर्नका लागि सबै नेताहरु एक ढिक्का भएको बताउँदै सबै क्षेत्रबाट हस्तक्षेपकारी नीतिबाट क्रान्तिको अभिभारा परा गर्न सकिने बताउनुभएको छ ।
विगतमा सेना समायोजन आफ्नो कार्यकालमा भएको बताउँदै विगतको सम्झौता अनुसार जनमुक्ति सेनालाई दिने भनेको दर्जा र पद दिन संसदवादीहरुले बार्गेनिङ गरेको प्रधानमन्त्रीले बताउनुभयो । प्रम भट्टराईले शहीद, बेपत्तालगायत द्वन्द्वकालमा भएका घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर हल गर्नुपर्ने बताउनुभयो ।
एकीकृत माओवादीको रोल्पा जिल्ला सम्मेलन उद्घाटनमा भाग लिन हेलिकोप्टर चढेर प्रचण्ड र बाबुरामसहित नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुनमगर, पार्टीका पश्चिम व्युरो इन्चार्ज लिलामणि पोख्रेल, मगराँत राज्य समिति सेक्रेटरी लोकेन्द्र विष्टमगर, पूर्वजनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन पासाङ र केन्द्रीय समिति सदस्यहरु जोखबहादुर महरा, कर्णध्वज केसी, झक्कुप्रसाद सुवेदी, दीपेन्द्र पुनमगर -सिजल) र ओनसरी घर्तीमगर रोल्पा सदरमुकाम पुगेका थिए ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger