गच्छदारको दबाब गठबन्धनले मानेन

काठमाडौं, माघ ६ (नागरिक)- माघ १७ गतेको 'जनजागरण सभा' सार्न मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको प्रस्ताव सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले अस्वीकार गरेको छ। 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख नेतासमेत रहेका उपप्रधानमन्त्री गच्छदारले राखेको प्रस्तव शुक्रबार बैठकमा गठबन्धनका संयोेजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका थिए। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महेन्द्र यादवले गच्छदारको प्रस्तावमा आपत्ति जनाएका थिए। बैठकले सभा गर्ने निर्णय अनुमोदन गर्दै गच्छदारको प्रस्ताव अस्वीकार गरेको प्रवक्ता प्रेमबहादुर सिंहले बताए।
'गच्छदारजीले जागरण सभाको मिति सारौं न त भन्ने सुझाव दिनुभएको छ भन्ने जानकारी प्रचण्डजीले गराउनुभयो,' सहभागी स्रोतले नागरिकसँग भन्यो, 'तर महेन्द्रजीले मोर्चाले निर्णय गरिसकेको छ, उहाँले भनेर हुन्न, १७ गते नै सो आमसभा गर्नुपर्छ भन्ने अडान राख्नुभयो।' उनका अनुसार यसअघि पनि पटक-पटक सभाको म्याद सार्दा त्यसले गलत सन्देश दिँदै आएको सिँचाइमन्त्री यादवको भनाइ थियो। गच्छदार भने बैठकमा थिएनन्।
बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने सभाबारे कुनै धारणा राखेनन्। तर, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने टुँडिखेल भर्ने जिम्मेवारी एमाओवादीको भएको भन्दै आफूहरुबाट धेरै अपेक्षा नगर्न दाहाललाई सुझाव दिए। 'कहाँकहाँबाट मान्छे ल्याएर टुँडिखेल भर्नुपर्ने हो, त्यो प्रमुख जिम्मेवारी माओवादीको नै हो, हामी साना दलले त के नै गर्न सक्छौं र?' महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा तथा फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव भने बैठकमा थिएनन्।
बैठकमा नेपाल परिवार दलका अध्यक्ष तथा गरिबी निवारणमन्त्री एकनाथ ढकाल, प्रवक्ता सिंह र नेपाली जनता दलका उपाध्यक्ष कविराज तिमल्सिनाले एमाओवादी नेतृत्वमा गठबन्धनको जिल्ला कमिटी निर्माण गर्न प्रस्ताव गरेका थिए। यो प्रस्तावमा फोरम गणतान्त्रिकका सहअध्यक्ष सीताराम अग्रवालले असहमति जनाएका थिए। 'जिल्ला कमिटीका संयोजक पनि माओवादीको नेतृत्वमा? के सधैं हामी माओवादीको मात्रै पुच्छर बन्ने?' त्यसपछि अग्रवालको जवाफ दिँदै अध्यक्ष दाहालले भने, 'त्यसो भए जिल्लासम्मका कमिटी गठन गर्दा जुन पार्टीको जिल्ला प्रमुख जेष्ठ छन्, उसैलाई संयोजक बनाएर जाऔंला।' यता, साना दलका तर्फबाट बोलेका राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष रामनरेश यादवले गठबन्धनभित्र आफूहरुलाई माओवादी र मधेसी मोर्चाले 'तेस्रो लिंगी' मात्र बनाउने काम गरेको भन्दै असन्तुष्ट पोखेका थिए। 'हामीलाई नै देखाएर तपाईहरु राजनीति गर्नुहुन्छ? सात-सात महिना तपार्इंहरुलाई साथ दिँदा हामीले के पायौं त?' बैठकमा यादवले आक्रोश पोखे, 'हामीलाई माओवादी र मधेसी मोर्चाले तेस्रो लिंगी बनाउने काम गरे, यो चित्त बुझिरहेको छैन।' 
प्रवक्ता सिंहले भने माघ १७ को जनजागरण सभालाई गठबन्धनको पूर्ण बैठकले अनुमोदन गरेको बताए। शनिबार बिहान सचिवालयको बैठक बस्दैछ। 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger