काठमाडौ, माघ ११ – दैलेखमा राम्रो भूमिका निर्बाह गर्न नसकेको भन्दै जिल्ला प्रहरी प्रमुख सहित तीन जना प्रहरी अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
एकीकृत नेकपा माओवादी र विपक्षीदलका कार्यकर्ताबीच बुधबार झडप हुँदा राम्रो भूमिका निर्बाह गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले डिएसपी र दुईजना प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाएको हो ।
प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारीले कार्यकुशलता राम्रोसंग निर्वाह गर्न नसकेकाले छानवीनका लागि दैलेखका प्रहरी प्रमुख डिएसपी शारदाप्रसाद चौधरी, प्रहरी निरीक्षकहरु इन्द्र सुवेदी र किरण न्यौपानेलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिनुभयो । उहाँले कसैको निर्देशनमा नभएर नेपाल प्रहरीको आन्तरिक संगठनको प्रतिवेदनका आधारमा जिम्मेवारीबाट हटाइएको बताउनुभयो ।
पत्रकार डेकेन्द्रराज थापाको हत्या सम्बन्धी मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक विनोद शर्मालाई भने अनुसन्धान प्रभावित हुने कारण सरुवा नगरिएको प्रहरीको भनाई छ । बुधबारको एकीकृत नेकपा माओवादी र विपक्षी दलहरुले गरेको प्रदर्शनका क्रममा मध्यपश्चिम प्रहरी प्रमुख रहेका डिआईजी टपेन्द्रध्वज हमाल सहित प्रहरीहरु घाईते भएका थिए ।
यसैबीच बुधबार दिनभर तनावग्रस्त दैलेख सदरमुकामको जनजीवन बिहीबार सामान्य भएको छ । बिहानैदेखि बजारमा चहलपहल देखिएको छ । एकीकृत माओवादी र विपक्षी दलका कार्यकर्ताबीच हिजो दिनभर झडप हुँदा दैलेखबजार तनावग्रस्त बनेको थियो ।

0 comments:
Post a Comment