पत्रकार डेकेन्द्र हत्याका अभियुक्त ८ वर्षपछि पक्राउ


त्रासमा पत्रकार-
कलेन्द्र सेजुवाल/गोविन्द केसी, दैलेख, पुस २२- लक्ष्मी थापाले श्रीमानको हत्यामा दोषी किटान गरिएका अभियुक्तहरु पक्राउ पर्लान् भनेर कहिल्यै सोचेकी थिइनन्। पत्रकार-श्रीमान् डेकेन्द्रको 'हत्यारा' खोजी गर्न उनले आठ वर्षसम्म न्यायको लडाईँ लडिन्। तर, किटानी जाहेरीमा परेका अभियुक्तहरु जिल्ला प्रहरीको आँगनमै हिँड्दासमेत प्रहरीले उनीहरुलाई छुने हिम्मत गरेन।
त्यही प्रहरीले दुई दिनयता हत्या अभियोगमा पाँच जनालाई पक्राउ गरेपछि भने उनको मनमा आशाको बत्ति बलेको छ। 'किटानी जाहेरी दिएको लामो समयसम्म हत्यारा पक्राउ नपर्दा अब त यस्तै हो भन्ने सोचेकी थिएँ,' अभियुक्त पक्राउको खबरलगत्तै सुर्खेतबाट आएकी उनले भनिन्, 'अब त न्यायको ढोका खुले जस्तो लागेको छ।'
दैलेख प्रहरीले किटानी जाहेरी परेको लामो समयपछि अभियुक्तमध्येका एक लक्षीराम घर्तिमगरलाई बिहीबार राति घरबाटै पक्राउ गरेको छ। उनले दिएको प्रारम्भिक बयानको आधारमा शनिबार थप पाँचजना पक्राउ परेका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा द्धारीका लक्षीराम र हरिलाल पुन, बालुवाटारका वीरबहादुर केसी र निरक घर्तिमगर तथा बानीबनका जयबहादुर शाही छन्। 'प्रारम्भिक बयानअनुसार हत्यामा ९ जना प्रत्यक्ष संलग्न भएको देखिएको छ,' शर्माले भने, 'संलग्न अन्यलाई पनि छिट्टै पक्राउ गर्दैछौं।'
२०६१ असार १२ गते अपहरण गरी साउन २७ गते हत्या गरिएका पत्रकार थापाकी श्रीमती लक्ष्मीले त्यसको चार वर्षपछि चारजना विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीमा नाम दिइएकामध्ये बमबहादुर खड्का (कट्टी), बमबहादुर खड्का (छिउडीपुसाकोट) र केशव खड्का अहिले पनि पक्राउ परेका छैनन्। प्रहरी निरीक्षक शर्माले पक्राउ परेका घर्तिमगर बाहेकका विरुद्ध पूरक जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए।
पत्रकार हत्या अभियोगमा आफ्ना नेता-कार्यकर्ता पक्राउ परेपछि एकीकृत माओवादी र नेकपा-माओवादीका जिल्ला स्तरीय नेताहरु रिहाइको लागि दवाव दिन प्रहरी कार्यालय पुगेका थिए। स्थानीयले प्रहरी कदमको समर्थन गर्दै छुटाउन गएका एकीकृत माओवादीका जिल्ला इन्चार्ज कर्ण बस्नेत, नेकपा-माओवादीका नेता एवं पूर्वसभासद् भरत रेग्मीलगायतलाई प्रहरी कार्यालयबाहिर घेराउ गरेका थिए।
'प्रहरीले ढिलै भए पनि देशमा कानून छ भन्ने आशाको किरण देखाएको छ,' प्रहरी कार्यालयबाहिर भेला भएका स्थानीयलाई सम्बोधन गर्दै पत्रकार थापाका दाजु भेषराजले भने, 'अब हामीले प्रहरीलाई छोड्न दवाव हैन, अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्छ।' उनले माओवादी नेतालाई पनि अनावश्यक दवाव नदिन आग्रह गरे।
जिल्ला प्रहरी कार्यालयले अभियुक्त पक्राउपछि सुरक्षा खतरा बढेको भन्दै सुर्खेतबाट ५० जनाको थप प्रहरी डफ्फा मगाएको छ। प्रहरी निरीक्षक शर्माले स्थानीय पत्रकार र पक्राउको समर्थनमा उत्रिएकालाई सतर्कता अपनाउन आग्रह गरे। 'ठूलो दवावको बावजुद पनि हामीले अनुसन्धानलाई अघि बढाउँछौँ,' उनले भने, 'अब हत्यामा संलग्न कोही पनि उम्किन पाउने छैनन्।'
अभियुक्त पक्राउपछि नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक सूर्यमणि गौतम र सुर्खेत जिल्ला अध्यक्ष दुर्गा थापा सहितको एक टोली शनिवार दैलेख आइपुगेको छ। संयोजक गौतमले कुनै पनि दवाव र प्रभावमा नपरी अनुसन्धान प्रक्रियालाई अघि बढाउन प्रहरीलाई आग्रह गरे। 'हत्यारालाई कारबाही गराउन सकियो भने पत्रकारमाथिका घटनामा धेरै कमी आउनेछ,' उनले भने, 'यो केसलाई सफल बनाउन पत्रकारको तर्फबाट गर्ने सहयोगको कुनै कमी हुने छैन।' पत्रकार महासंघले अभियुक्त पक्राउको माग गर्दै यसअघि थुप्रैपटक दवावमूलक कार्यक्रमसमेत गरेको उनले स्मरण गराए।
त्रासमा पत्रकार
घटनापछि स्थानीय पत्रकारले आक्रमणको त्रास बढेको बताएका छन्। नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्कर थापाले बजार आसपास घर भएका पत्रकारहरु डरले घर जान नसकेको बताए। 'माओवादी कार्यकर्ताले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन्,' थापाले भने, 'यस्तो अवस्थामा कसरी घर जाने?' शनिबार राति दैलेखमा क्रियाशील करिब १५ पत्रकार सदरमुकामस्थित सँगै बसेका छन्।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger