राष्ट्रपतिले हात झिकेपछि, सत्तारुढ र विपक्षी दुबै आन्दोलनमा


काठमाडौ, माघ ३ – सहमतिमा नयाँ प्रधानमन्त्री चयनका लागि मंसिर ८ गतेदेखि समयसीमा तोक्दातोक्दै राष्ट्रपति डा. रामबरण यादवले अन्तत हात झिक्नुभएको छ ।
राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पटक पटक आग्रह गर्दै नवौंपटकसम्म समय थप्दा पनि दलहरुले गतिलो छलफल नै गरेनन् ।
राष्ट्रपतिले समयको परिवन्द हटाउने वित्तिकै विपक्षीका कुरा चर्का भए । एमाले अध्यक्ष झलनाथ खनाल भन्नुहुन्छ  ‘सरकारी दलहरु वार्ता प्रक्रियालाई अगाडि लान र राष्ट्रपतिले सुरुवात गर्नुभएको संवाद प्रक्रियालाई समेत अन्त्य गर्ने पक्षमा देखिए, त्यसैले अहिले तत्कालै सहमतिमा पुग्ने संभावना हामीले देखिरहेका छैनौं ।’
राष्ट्रपतिले जतिपटक बोलाएपनि सहमति गर्र्छाै भन्ने दलहरुको जवाफ हुन्थ्यो । सधै मुख्य तीन दल र मधेशी मोर्चाको भर गर्दै आएका राष्ट्रपतिले तिनै दललाई ताकेता गर्दै समय तोक्दै आउनुभएको थियो । तर मंगलबार संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएरै राष्ट्रपतिले सीमा हटाउनुभयो । यसले झन् सहमतिको संभावना अन्त्य भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाको तर्क छ ।
‘बैशाख जेठभित्र चुनाब हुने संभावना तुहिएको छ, राष्ट्रपतिले सुरु गर्नुभएको सहमतिको प्रक्रियाको औचित्य पनि समाप्त भएको छ, स्वयं राष्ट्रपतिले मिति तोकेर सहमति गर्न दबाब दिनेभन्दा दलहरु आफै सहमति गरेर आउने अत्यन्तै हलुका निर्णय सुनाउनुभयो, दलहरुवीच फेरि आपसमा बसेर सहमतिमा पुग्ने कुनै संभावना छैन ।’
निर्वाचन आयोग खाली भएकाले बैशाख जेठमा चुनावको सम्भावना सकिएको अनुभूति गरेका विपक्षी दलले सहमतिका लागि राष्ट्रपतिको सोलोडोलो आग्रह आएकै दिन आन्दोलनको घोषणा गरेका छन् । संयुक्त आन्दोलनमा रहेका विपक्षी दलले जेठ २६ गते काठमाडौमा सभा पनि गरेका थिए । तर आन्दोलनमा उपस्थिति निकै कम रहेपछि सरकारले खुट्टी देख्दै चाल पाइयो भन्ने टिप्पणी समेत गर्‍यो ।
त्यसैले अहिले विपक्षीले आन्दोलन सुरुवात गने ठाउँ रोजेका छन् पत्रकार डेकेन्द्र थापाको हत्याका कारण तातेको दैलेखलाई । कांग्रेस नेता डाक्टर रामशरण महत  भन्नुहुन्छ ‘माघ ६ गते दैलेखमा गएर पत्रकार डेकेन्द्र थापाको हत्याकाण्डको बारेमा सरकारको अहिलेको रवैया, प्रधानमन्त्रीको आडम्बरी र धम्कीपूर्ण अभिब्यक्तिको विरोधमा विरोध सभा गर्छौ, त्यसपछि देशको बिभिन्न भागमा विरोध सभा गर्छौ ।’
विपक्षी आन्दोलनको तयारीमा रहेका बेला सत्तापक्षको पनि आफ्नै सुर छ । सत्तापक्षले पनि संविधानसभाको पुनर्स्थापना गर्ने, गठवन्धनलाई विस्तार गर्ने र जनपरिचालन अगाडि बढाउने योजना सार्वजनिक गरेको छ ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको निर्णय सुनाउँदै प्रवक्ता प्रेमबहादुर सिंह भन्नुहुन्छ  ‘जनजागरणको लागि जनपरिचालनको कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय सहमति कायम गरी निर्वाचनको सुनिश्चितताका लागि अधिकतम पहल जारी राख्दै संविधानसभा पुनर्स्थापनाको विकल्पलाई पनि खुला राख्ने, गठबन्धनको नीति तथा कार्यक्रममा सहमत दलहरुलाई गठबन्धनमा समावेश गरी गठबन्धनलाई विस्तार गर्ने निर्णय भएको छ ।’
सहमतिको ढोका खुल्लै छ भनेपनि सत्तारुढ विपक्षी दलले आ—आफ्नो बाटो रोजेका छन् । एकीकृत माओवादीले तत्काल सत्ता छोड्नु आत्मघाती हुन्छ भन्नु, विपक्षीले आन्दोलन घोषणा गर्नु अनि राष्ट्रपतिले पनि समय सीमा तोक्न छोड्नुले मुलुकको राजनीति थप नयाँ जटिल बनेको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger