२० दिनसम्म के-के गरे विपक्षीले ?


गलेनन् सत्तारुढ र प्रतिपक्षी दलहरु

२६ माघ, काठमाडौं । सरकारविरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले प्रथम चरणको आन्दोलन भव्यरुपमा सफल भएको निश्कर्ष निकालेका छन् । विहीबार कांग्रेस कार्यालय सानेपामा बसेको विपक्षी दलको बैठकले यस्तो निश्कर्ष निकालेको हो । आज खुल्लामञ्चमा सभा गरेपछि विपक्षीको पहिलोचरणको आन्दोलन सकिने छ । आगामी सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गरिने विपक्षी नेताहरुले बताइसकेका छन् ।
विपक्षी दलहरुको आन्दोलन खासै नतात्ने सत्तापक्षले अनुमान लगाइरहेका बेला शुरुमा कार्यकर्ताको मात्रै सहभागिता देखिए पनि उनीहरुले देशका प्रमुख शहरहरुमा अपेक्षा गरेअनुरुप नै उत्साहजनकरुपमा विरोधसभाहरुको आयोजना गरेका छन् । धनगढीमा पानी पर्दापर्दै पनि विपक्षीले सभा गर्न सफल भए । माघ २० गते सत्तारुढ एकीकृत माओवादीले हेटैडाको हुप्रचौरमा विपक्षी दल र साना दलका नेतालाईसमेत बोलाएर महाधिवेशन उद्घाटन गरिरहेका बेला विपक्षी दलका शीर्ष नेताहरु बिराटनगरमा आयोजित जनसभालाई सम्बोधन गरिरहेका थिए । आफूले महाधिवेनपछि ल्याउने फर्मूला नमाने कांग्रेस एमालेलाई जनताले सिध्याउने प्रचण्डले हाँक दिइरहेकै दिन विपक्षी नेताहरुले पनि बिराटनगरबाट एमाओवादीलाई जनताको आन्दोलनले परास्त गरी छाड्ने हाँक दिइरहेका थिए ।
पहिलो चरणको आन्दालने अनुसार विपक्षीले सम्पन्न गरेका कार्यक्रम यस्ता छन् :
माघ ६ गते दैलेख सदरमुकाममा विपक्षीले सभाको आयोजना गरी आन्दोलनको शुरुवात ।
माघ १० गते दैलेखमा एमाओवादीको जिल्ला सम्मेलन उद्घाटनमा प्रधानमन्त्री र प्रचण्ड गएका बेला सत्तापक्ष र विपक्षीवीच झडप ।
माघ १० देखि १६ गतेसम्म सहीद सप्ताहलाई विरोधसभाका रुपमा मनाइयो ।
माघ १२ गते विभिन्न जिल्ला सदरमुकामहरुमा प्रदर्शन । कतिपय जिल्लामा प्रहरीसँग सामान्य झडप ।
माघ १६ गते राजधानीको सहीद गेटमा विरोध प्रदर्शन
माघ १९ गते बाग्लुङमा राजमोको संयोजनमा विरोधसभा । दैलेखको दुल्लुमा पनि विपक्षी दलका शीर्ष नेता एवं युवा नेताहरुको एकै दिन सम्बोधन ।
माघ २० गते बिराटनगरमा एमालेको संयोजनमा विरोध सभा ।
माघ २१ गते नेपालगञ्जमा कांग्रेसको संयोजनमा विरोध सभा ।
माघ २२ गते पोखरामा एमालेको संयोजनमा विरोध सभा ।
माघ २३ गते धनगढीमा एमालेकै संयोजनमा विरोध सभा ।
माघ २४ गते जनकपुरमा कांग्रेसको संयोजनमा विरोधसभा ।
२५ गते भैरहवामा राप्रपाको संयोजनमा विरोधसभा ।
२६ गते राजधानीको खुल्ला मञ्चमा विरोध सभा ।
अझै गलेनन् सरकार र विपक्षी
विपक्षी दलहरुले करिब माघभर गरेको आन्दोलनबाट मनोवैज्ञानिक उर्जा प्राप्त गरेका छन् । सडक आन्दोलननबाटै एमाओवादीलाई गलाउन सकिन्छ भन्ने उनीहरुभित्र रहेको विश्वास अरु बढेको र उनीहरु सरकारप्रति झनै आक्रामक भएको देखिन्छ । आफ्नो आन्दोलनमा देशैभरि कार्यकर्ता परिचालन एवं जनपरिचालन गर्न विपक्षीहरु एकहदसम्म सफल देखिएका छन् । दैलेखमा भएको झडप र २२ प्रकारको विस्थापनको घटनाले विपक्षीको आन्दोलनलाई शुरुमै केही उर्जासमेत प्रदान गरेको हुनाले विपक्षीहरुलाई उर्जा मिलेको देखिन्छ ।
तर, विपक्षीको आन्दोलनको उर्जा एमाओवादी नेताहरुले महसुस नै गर्न पाएका छैनन् । हेटौडामा महाधिवेशन आयेजना गरिएको र देशैभरिका कार्यकर्ताबाट घेरिएर बसेको हुनाले एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुारम भट्टराईमा पनि अझै यसैगरी पेलेरै र अल्मल्याएरै अघि बढ्न सकिन्छ भन्ने विश्वास बढेको देखिन्छ । यसरी सत्तापक्ष र प्रतिपक्ष दुबैतिर जनताको समर्थन आफूतिरै रहेको दम्भ पैदा भएकाले पहिलो चरणको विपक्षीको आन्दोलनले सरकार र उनीहरुवीचवीच सहमति जुट्ने भन्दा पनि अझै ठूलो रस्साकसीको सम्भावना देखाएको छ ।
हेटौँडाको महाधिवेशनबाट विपक्षीलाई मान्य हुने फर्मूला लिएर आउने आश्वासन दिएका एमाओवादी अध्यक्ष प्रचण्डले अघि सारेको बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव हेटौडाको बन्दशत्रबाट बाहिर ननिस्किँदै विवादको घेरामा परिसकेको छ । प्रचण्डको यो प्रस्तावलाई आज विपक्षीले खुल्लामञ्चबाट खारेज गरिदिए भने मुलुकको राजनीति फेरि पनि पुषको ठण्डीबाट उन्मुक्त भैहाल्ने आशा गर्नु अलि हतारो हुनसक्छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger