फ्याँक्ने जुत्ता बेचेर उपभोक्ता ठगी

काठमाडौं। राजधानीको राष्ट्रिय सभागृहको प्रांगणमा बिग सेलको नाममा केही छालाजुत्ता कम्पनीले कवाडीमा फ्याँक्ने खालका जुत्ता बिक्री गरेर उपभोक्ता ठगेको पाइएको छ। जुत्ता प्रयोग गर्न नमिल्ने (ड्यामेज) वा क्षणिक समयका लागि मात्र प्रयोग गर्न मिल्ने जुत्ताको उच्च मूल्यांकन गरेर ८० प्रतिशतसम्म छुट दिएको बहनामा उपभोक्ता ठगेका हुन्।  
नेपाल छाला जुत्तामा आत्मनिर्भर उन्मुख भएको अवस्थामा ६ वटा उद्योगको मिलेमतोमा गरिएको बिग सेल मेलाले न्यून गुणस्तरका जुत्ता–चप्पल बिक्री गरेपछि स्थानीय उत्पादनको साख गिर्ने खतरा बढेको छ। बिक्री (सेल) मेला लाग्दा सामान्य 'फेसन आउट' सामग्रीलाई लागत मूल्यमा नै बिक्री गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यताविपरीत विशेष छुटका नाममा चर्को मूल्य असुल गरेर उपभोक्ता ठगेको पाइएको हो।  
उपभोक्ताले सामान खरिद गरेर लिएको बिलसमेत मेलाको मूल गेटबाट खोसेर उपभोक्ताको अधिकार र राजस्वमाथि ठगी गरिएको छ। छाला तथा वस्तु उत्पादक संघ नेपालको संस्थागत निर्णयबिना नै गरिएको उक्त मेलामा कोसेली, बीएफ डेयर बिल, स्काई, शिखर, फिदर विंस र टाकुरा गरी ६ वटा उद्योगका उत्पादनको मात्र सहभागिता रहेको छ। संघमा आबद्ध भएका थप ५९ वटा अन्य स्थापित उद्योग मेलामा सहभागी भएका छैनन्। संघको सक्रियतामा १५ दिनअगाडि भृकुटीमण्डपमा नै छालाजुत्ता प्रदर्शनी गरेको भए पनि माघ ५ देखि १८ सम्म पुनः बिग सेल गरेर उपभोक्तामाथि मूल्य र गुणस्तरमा अन्याय गरिएको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताउनुभयो। 'नियमन निकाय नभएको मौका छापेर उपभोक्तामाथि गरिएको शोषण हो यो'– उहाँले भन्नुभयो।  
दुई दिनअगाडि मेलाबाट दुई जोर जुत्ता खरिद गरेका कोटेश्वरका रामचन्द्र थापाले घरपुग्दा कामै नलाग्ने जुत्ता पत्ता लागे पनि सोमबार साट फेर गर्न पाएनन्। कोसेली जुत्ताबाट २० देखि ८० प्रतिशत छुटका नाममा जुत्ता खरिद गरेका थापा मेलामा पछुतो मानेर बसेका थिए। ६ वटा उद्योगले नै सुरुमा नै जुत्ताको १ हजार ५ सयदेखि ४ हजार ५ सयसम्म उच्च्ा मूल्यांकन गरेर २० देखि ८० प्रतिशत छुट दिएको उपभोक्तालाई भ्रम पारेका छन्। मेलामा उपलब्ध जुत्ता चप्ललमा एउटै साइज नहुने, एउटा राम्रो एउटा नराम्रो हुने, सिलाइ फाटेको, सोल घर्सेकोलगायतका सामानसमेत बिक्री गरिएको छ।  
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मेलाको नाममा उपभोक्तामाथि ठग्ने उद्योगी र बिक्रेतालाई उपभोक्ता संरक्षण ऐन २०५४ तथा नियमावली २०६५ को प्रयोग गरेर हदैसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको बताउनुभयो। उहाँका अनुसार उक्त कारबाही वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय तथा प्रहरीले अगाडि बढाउन सक्नेछ। छाला तथा वस्तु उत्पादक संघ नेपालका अध्यक्ष होमनाथ उपाध्यायले कम्पनीमा भण्डारण भएका जुत्तालाई बिग सेलको नाममा हटाउनुपर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार संस्थागत निर्णयबिना नै गरिएको उक्त मेलामा बिक्री भएका जुत्ता चप्पलको उद्योगले ग्यारेन्टी र जिम्मेवारी दिन सक्दैनन्।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger