कंगो – एक शताब्दीअघि बेल्जियमका राजा लियोपोल्डको निजी सम्पत्ति रहेको कंगो त्यसपछि बेल्जियमको उपनिवेश बन्यो । त्यसैले होला अहिले पनि कंगोका विभिन्न ठाउँमा बेल्जियन मोडलका लोभलाग्दा भवन देखिन्छन् । उत्तरी किबुमा पर्ने मुतुअंगामा रहेको नेपाली सेनाको एउटा टोली बेल्जियम मोडलको घरमा बस्दै आएको छ ।
झण्डै ५० वर्षअघि मात्र स्वतन्त्र भएको कंगोमा जोसेफ कसाभुबु पहिलो राष्ट्रपति बने । तत्कालीन प्रधानमन्त्री पेटिरस लुमुम्बासँगको अधिकार बाँडफाँड विवादपछि सेना प्रमुख जोसेफ मोबुतुले सैन्य कू गरे । उनका पालामा कंगोको नाम परिवर्तन गरिएको थियो । अमेरिकी सहयोगमा पेटिरसको हत्या गरियो भने जोसेफ मोबुतुले जायर नाम राखेर ३० वर्ष अमेरिकी उपनिवेश सरहनै कंगोमा शासन गरे ।
सन् १९९४ मा कंगोको दक्षिणपूर्वी छिमेकी देश रुवाण्डामा आम नरसंहारको घटनापछि हूतू जाति कंगोतिर पसेका थिए । रुवाण्डामा हूतू र तुत्सी जातिबीच जातीय हिंसा भएको थियो । शरणार्थीको रुपमा हूतूजाति भित्रिएपछि कंगोमा छिमेकी देश रुवाण्डाको आक्रमण शुरु भएको मानिन्छ । हूतू जातिलाई कंगोले सहयोग गरेको भन्ने निहुँमा रुवाण्डाले निरन्तर कंगो माथि आक्रमण गर्यो ।
सन् १९९७ मा मोबुतुको सत्ता पतन भयो । त्यसपछि रुवान्डा समर्थित लरेन्ट काबिलाले कंगोमा शासन गर्न थाले । हूतू जाति माथि प्रतिबन्ध नलगाएको भन्दै रुवाण्डाले फेरि लरेन्ट शासन विरुद्ध पनि आक्रमण गर्यो । त्यसबेला कंगोले विभिन्न देशको साथ लिएर प्रतिवाद गर्यो । सो युद्ध सन २००३ देखि औपचारिक रुपमा सकिएको घोषणा भयो ।
अहिले जोसेफ काबिला कंगोका राष्ट्रपति हुनुहुन्छ । बाबुको हत्या भएपछि उहाँ सन् २००१ मा सत्तामा आउनुभएको हो । सन् २००९ मा जातीय सशस्त्र समूह तुत्सीसंगको सम्झौतापछि कंगोली सेनामा तुत्सी विद्रोहीलाई समायोजन गरियो । तर सन् २०१२ मार्च २३ तारिखमा तुत्सी विद्रोहीले रुवाण्डाको सहयोगमा छुट्टै फोर्स गठन गरे, त्यसलाई एम 23 भनिएको छ ।
रुवाण्डाको सहयोगमा गएको नोभेम्बरमा त्यहाँको गोमा शहर विद्रोहीले कब्जामा लिएपछि स्थानीय बासिन्दाले सुरक्षा दिन नसकेको भन्दै त्यहाँ कार्यरत विभिन्न देशका शान्ति मिसनमाथि आक्रमण गरे । मिसनको दबाबमा एम 23 ले गोमा शहर छोडेर २० किलोमिटर टाढा क्याम्प बनाएर बसेको छ ।
झण्डै एक महिनाअघि त्यहाँको बुटेम्बो जेलबाट झण्डै चारसय कैदीबन्दी एम 23 र माईमाई समूहले छुटाएर लगेका छन् । अहिले छिमेकी देश युगाण्डाको राजधानी कम्पालामा विद्रोही र सरकारबीच वार्ता भैरहेको छ ।
कंगोको पूर्वीभागमा दर्जनौं हतियारधारी समूह सक्रिय छन् । स्थानीय भाषामा उनीहरुलाई माईमाई भनिन्छ । अलकायदाका सहयोगी संस्थाहरु पनि त्रियाशिल छन् कंगोमा । कंगोमा चलेको सशस्त्र युद्धका कारण झण्डै ६० लाख व्यक्तिले ज्यान गुमाएको अनुमान गरिएको छ । युद्ध, कंगोको पूर्वी भाग खासगरी युगाण्डा र रुवाण्डाको सीमा क्षेत्रमा केन्द्रीत छ ।
वर्तमान द्वन्द्व
भौगोलिक हिसाबले हेर्ने हो भने अफ्रिकामा दोस्रो ठूलो र संसारमा ११ औं ठूलो देश हो कंगो । हाम्रो छिमेकी देश भारत भन्दा थोरै मात्र सानो छ । दक्षिण सुडान, रुवाण्डा, युगाण्डा, जाम्बिया, बुरुण्डी, एगोला, तान्जानिया लगायतका देशबाट घेरिएको छ कंगो । तर राष्ट्र बलियो हुनका लागि भूगोल र प्राकृतिक सम्पदा मात्र पर्याप्त होईन भन्ने शिक्षा लिनेका लागि कंगो एउटा बलियो उदाहरण हो ।
पहिलेका कुख्यात ईदी अमिनको देश युगाण्डा र अर्को छिमेकी देश रुवाण्डानै कंगोका लागि शत्रु बनेका छन् । खनिज प्रशस्त भएको कंगोको पूर्वी भाग यी दुई देशको सीमासँग जोडिएको छ । युगाण्डाको विकास हेर्ने हो भने यूरोपेली देश भन्दा कुनै फरक छैन । उसको मुख्य आम्दानी सुन हो तर युगाण्डामा सुनखानी छैन । कहाँबाट आउँछ सुन ? त्यस्तै रुवाण्डाको विकास पनि वर्णन गर्न लायक छ ।
यी दुवै देशले कंगोको खनिजमा आँखा लगाएका छन् । अहिले विभिन्न समूहलाई हतियार दिएर वा आफ्ना सैनिक पठाएर कंगोलाई सधैभरी उनीहरु अस्तव्यस्त पार्न चाहन्छन् । त्यसको पछिल्लो उदाहरण झण्डै तीन महिनाअघि एम 23 लाई ट्याङ्क सहितको सैन्य सहयोग गरेर गोमा शहर कब्जा गर्न लगाएको थियो रुवाण्डाले । युगाण्डाले पनि सिधैं हतियार दिएर कंगोलाई अस्थिर र अशान्तिमै राख्न चाहन्छ । हाम्रो टोली भ्रमणमै रहेका बेला विद्रोहीले दुई कण्टेनर अत्याधुनिक हतियार भित्र्याएका थिए ।
निरिह सुरक्षाकर्मी
अत्याधुनिक हतियार छ तर खाना र नियमित तलव छैन सुरक्षाकर्मीलाई । हरेकसँग एके ४७ जस्ता अत्याधुनिक हतियार भएपनि पातले बेरेर बनाइएका फुसको घरमा मुश्किलले उभिन मात्र पुग्छ । तल्लो तहका सुरक्षाकर्मीको हातमा नआईपुग्दै बीचमै उपल्लो ओहोदाका अधिकारीले नै तलव खाइदिन्छन् ।
सेनाका जवानले बेला बेला गरिरहने बिद्रोह र बिद्रोहीको साथमा लाग्नु
को एउटा मुख्य कारण यहि हो । एकले अर्कोमा रहेको जनशक्ति तान्नका लागि सुरक्षाकर्मी र विद्रोहीबीच प्रतिस्पर्धानै हुनेगरेको छ । आज मेजर रहेको विद्रोही भोली लेफ्टिनेन्ट कर्णेल बनेर सेनामा आउन सक्छ । दिनभरी ड्यूटी गर्ने र बेलुकी हतियार सहित घरमा जाने प्रहरीको दैनिकी हो ।
कतिपय सुरक्षाकर्मी खाएर बचेको खानेकुरा छ की भनेर खोज्दै शान्ति मिसनमा खटिएका विदेशी सैनिकका क्याम्पमा पुग्ने गरेका छन । यसले कंगोको गरिवीको स्तरलाई प्रतिबिम्वित गर्छ । अहिले कंगोमा नेपाल, भारत, बंगालादेश, पाकिस्तान लगायतका झण्डै १८ हजार सैनिक शान्ति सेनाका रुपमा कार्यरत छन । यसलाई मोनुस्को मिसन भनिन्छ ।
धनीका आफ्नै जहाज आफ्नै विमानस्थल
संसारमै विलासी र सुखी जीवनशैली भएका नागरिक पनि कंगोमौ छन् । हिरा, सुन, कोल्टन जस्ता बहुमुल्य खनिजको व्यवसाय गर्नेहरु संसारमै विलासी छन् । यहाँको खनिजलाई उपयोग गर्न उनीहरुले जंगल क्षेत्रमा निजी विमानस्थल बनाएका छन । राज्यको उपस्थिति नभएपछि निजी जहाज मार्फत् बहुमुल्य खनिजको ओसारपसार हुने गरेको छ ।
उनीहरु राज्य भन्दा पनि आर्थिक हिसाबले धेरै बलिया देखिन्छन् । कंगोमा एक सय तीनवटा व्यक्तिगत विमानस्थल छन् । यहाँको रकम लगेर अत्यन्तै सीमित वर्गले न्यूयोर्क, पेरिस, ब्रसेल्स र लण्डनमा बिलासी जीवन बिताउँछन् । तर कंगो भने आर्थिक हिसाबले झन झन कमजोर हुँदै गएको छ । आम नागरिक खान नपाएरै मर्ने गरेका छन् ।
कंगोमा कि त अत्यन्तै धनी छन् कि त अत्यन्तै गरिव । मध्यम वर्ग छैन भन्दा पनि हुन्छ । अवैध व्यवसायमा लागेकाहरु ठूला महलमा नीजि सुरक्षाकर्मी सहित बस्छन् ।
नेपालकै झझल्को !
अवस्था मात्रै होईन नेपालकै जस्ता नाम छन् कंगोमा । नेपाली सेनाको बटालियन रहेको ठाउँ नै बेनीमा पर्छ । बेनीको पूर्व पट्टी रहेको नगरकोट डाँडाबाट बेनीबजार र आसपासको दृश्य मनमोहक देखिन्छ । त्यस्तै बुटेम्बोमा रहेको इलामको चियाबारी र नेपाल डाँडा पनि कंगोमा छन् ।
नगरकोट, इलामको चियाबारी र नेपाल डाँडा नेपाली सेनाले राखेका नाम भएपनि अहिले स्थानीय बासिन्दाले पनि त्यहाँ नेपाली नाम प्रयोग गर्न थालेका छन् । तर बेनी, गोमा, बुनिया भने त्यहीको नाम हो । नेपाली सेनाको बेनीमा रहेको बटालियन, इतुरीको बुनियामा रहेको इन्जिनियरिङ कम्पनी र बुटेम्बोमा सहयोगीका रुपमा काम गर्ने कंगोली नागरिकले फरर्र नेपाली बोल्छन् ।

0 comments:
Post a Comment