काठमाडौं, जेठ ६ - चार दल र सरकारसँग वार्ता नगर्ने अडान लिईरहेको नेकपा माओवादीले उच्चस्तरीय राजनीतिक समितिसँग छलफल शुरु गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं समितिका संयोजक झलनाथ खनालसँग काठमाडौंको एक होटेलमा भएको वार्ता सकारात्मक भन्दै नेकपा माओवादीले थप छलफल अघि बढाउने तयारी गरेको छ ।
तीन बुँदे सर्त पुरा भएमात्रै वार्तामा बस्ने अडान लिएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आइतवार उच्च स्तरीय समितिका संयोजक झलनाथ खनालसँग गोप्य वार्ता गरेको हो ।
दलगत छलफल मात्रै
तर नेकपा—माओवादीले भने यसलाई दलगत छलफल मात्रै भनेको छ । माओवादी उपाध्यक्ष सीपी गजुरेलले छलफल भएपनि दलको हैसियतमा मात्रै भएको र उच्चस्तरीय राजनीतिक समितिको हैसियतमा खनालसँग छलफल नगरेको दाबी गर्नुभयो । छलफललाई निरन्तरता दिने उहाँको भनाई छ ।
यसअघि माओवादीकै नेतृत्वलाई समितिका संयोजकले भेटेर सहमतिमा ल्याउने प्रयास गरेपनि यसपटक भने नेकपा—माओवादी गोप्य ठाँउमा आफै वार्तामा गएको हो ।
वार्तामा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, रघुजी पन्त, भीम रावल र नेकपा—माओवादीका तर्फबाट उपाध्यक्ष सीपी गजुरेल र सचिव देव गुरुङ सहभागी हुनुहुन्थ्यो ।

0 comments:
Post a Comment