माधव दुलाल/उज्यालो ।
कंगो – मान्छेलाई मान्छेले खान सक्लान् ? सुन्दा पनि आङ सिरिङ्ग हुने कहालीलाग्दो यथार्थलाई अफ्रिकी देश कंगोका कतिपय बासिन्दाले वर्षौं अगाडि भोगेका थिए । आन्तरिक द्वन्द्वले तहसनहस नभएको कंगोमा अहिले मान्छे खाने ‘दानवहरु’ त छैनन् ।
तर उनीहरुको शिकार हुनबाट जोगिएकाहरु अहिले पनि कहालीलाग्दो जीवन जिउन बाध्य छन् ।
कंगोमा शान्ति स्थापनार्थ खटिएका नेपाली सेना बस्ने इरिङगिटी आसपासका बासिन्दाको अवस्था हेर्दा लाग्छ, उनीहरु भन्दा हाम्रो देशका राउटे, कुसुण्डा र चेपाङहरुको अवस्था धेरै राम्रो छ । कसैले खानेकुरा दिँदा मुसुक्क हाँस्दै दुई हात सारेर थाप्ने उनीहरुको विशेषता हो ।
जंगलमै बस्ने, जंगलमै पाइने कन्दमुल खाने र जंगलमै रमाउने यीनीहरु केहीबर्ष अघिसम्म मान्छेको अगाडि पर्न डर मान्थे । आक्रमण गर्नेहरु पलायन हुँदै गएपछि उनीहरु
मान्छेसँग नडराउने भएका छन् ।
मान्छेसँग नडराउने भएपछि दक्षिण अफ्रिकी देश कंगो पुग्नेहरु उनीहरुलाई हेर्न खानेकुरा लिएर इरिङगिटी भन्ने ठाउँ पुग्छन् ।
इरिङगिटीमा फाट्टफुट्ट देखिने केही घर छन् । यी घरमा ठूला मान्छे भन्दा साना बालबालिका बढी देखिन्छन् । सडकको वरपर देखिने यी झुपडी पार गर्ने बित्तिकै आउने घना जंगल छेउमा अर्को वस्ती छ ।
जंगलमा पाइने कन्दमूल खाएर जंगलमा जीवन बिताउने उनीहरुलाई कंगोमा पिग्मिज भनिन्छ । उनीहरुलाई देख्ने नेपालीहरु राउटे र कुसुण्डा जातिसँग तुलना गर्छन् ।
उनीहरुको बस्ने घर सेउलैसेउलाले बनेको छ । यो पनि उनीहरुको स्थायी बस्ने थलो होइन ।
जंगजमा यता र उता चाहारिरहने उनीहरु जहाँ पुग्छन्, त्यहीँ घर हुन्छ । उनीहरु जंगलमा घुमन्ते जीवन विताउन मन पराउँछन् ।
उनीहरुको बस्ने ठाउँ, स्वभाव र आनिबानी मात्रै होइन स्वरुप पनि अचम्मको देखिन्छ । छोराछोरी भैसकेकाहरुको उचाई धेरैमा साढे तीन फिट भन्दा छैन ।
पिठ्युँमा बच्चा बोकिरहेका महिलाको गर्भमा अर्को बच्चा पनि छ । उनका परिवार खानेकुरा खोज्न जंगल छिरेका छन् । उनीहरु न कंगोको भाषा बुझ्न सक्छन्, न प्रष्टसँग बोल्न नै ।
अहिले इरिङगेटी क्षेत्रमा पिग्मिजको संख्या डेढ सय रहेको अनुमान छ । मुसुक्क मुस्काउने, आँखा झिम्क्याउने, अनि जोडसँग हात हल्लाउने उनीहरुको बारेमा अध्ययन अनुसन्धान समेत हुन नसकेको कंगोलीहरु बताउँछन् ।

0 comments:
Post a Comment