Sunday
October 27

फेसबुक विज्ञापनबाट २ करोड बाहिरियो

नेपाली कांग्रेसका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल ‘फेसबुक’लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन् । आफ्नो र निर्वाचन लक्षित अन्य पेजहरुमा उनले विज्ञापन गरिरहेका छन् । युवा मतदातासम्म पुग्न फेसबुक प्रभावकारी हुने उनको भनाई छ ।
एमाले नेता तथा कास्की ३ का उम्मेदवार रविन्द्र अधिकारी पनि आफ्नो निर्वाचन गतिविधिबारे जानकारी गराउन फेसबुक विज्ञापन प्रयोग गरेको बताउँछन् ।
सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण प्रमुख दलका नेतासहित सानाठूला सबै दलका नेतासहित सानाठूला सबै दलका उम्मेदवारहरुमा आक्रामक रुपले फेसबुकमा विज्ञापन गर्ने होड चलेको छ ।
कांग्रेसका रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, नरहरि आचार्यदेखि एमालेका ईश्वर पोखरेल, नारायण मरासिनी, योगेश भट्टराई, एकीकृत माओवादीका हिमाल शर्मा र राप्रपा नेपालका कमल थापा, भरत जंगमसम्मले फेसबुकमा विज्ञापन गरेका छन् ।
चुनावी प्रचार निम्ति भित्ता रंगाएर सहर कुरुप पार्नुभन्दा अत्याधुनिक प्रविधि रोज्नुलाई धेरैले रुचाए पनि यसबाट ठूलो रकम अवैधानिक रुपमा बाहिरिएको आजको नागरिक दैनिकमा खबर छ ।
फेसबुकमा गरिने विज्ञापनको पैसा ‘पेपाल’ वा अन्तर्राष्ट्रिय क्रेडिट कार्डमार्फत बुझाउनुपर्छ । दुवै नभएका नेताहरुले विदेशमा रहेका साथीभाइबाट चन्दा उठाएर विज्ञापन गरेको बताएका छन् ।
थापा र अधिकारी दुवैले आफ्नो पेपाल र अन्तर्राष्ट्रिय क्रेडिट कार्ड नभए पनि विदेशमा रहेका शुभेच्छुकहरुमार्फत विज्ञापन गराएको जानकारी दिए ।
पेपाल अकाउन्ट र फेसबुक विज्ञापनमा पारामर्श दिने आउटसोर्सिङ व्यवसायी जीवन तामाङका अनुसार हालसम्म ५० भन्दा बढी उम्मेदवारले ६ लाख रुपैइाँभन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च गरिसकेका छन् ।
पछिल्लो समय व्यक्तिगत पेजमा पनि चुनावी विज्ञापन गर्ने चलन बढेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने नेपाली रकम घुमाउरो बाटो विदेश पुर्‍याउन अवैधानिक भएको बताए ।
संविधानसभा निर्वाचनमा उम्मेदवारको चुनावी विज्ञापन पछिल्लो समय देखिएको 'ट्रेन्ड' मात्र हो । फेसबुकमा पैसा तिरेर विज्ञापन गर्ने चलन व्यवसायिक क्षेत्रमा पनि उत्तिकै बढेको छ । जति यो ट्रेन्ड बढ्दो छ, फेसबुक विज्ञापनमार्फत विदेशिने रकम पनि उति बढ्दै छ ।
आउटसोर्सिङ व्यवसायीहरुका अनुसार नेपालबाट हालसम्म २ करोड रुपैयाँ भन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च भइसकेको छ । करिब १ हजार ६ सय जनाले फेसबुकमा विज्ञापन गरिरहेको उनीहरुले बताउँछन् । फेसबुकमा सशुल्कदेखि निःशुल्क विज्ञापनको सुविधासम्म छ । विज्ञापन शुल्क कम्तीमा १० डलरबाट सुरु हुन्छ । विभिन्न प्याकेजअन्तर्गत महिनाको ५० देखि ४ सय डलरसम्मका विज्ञापन गर्न पाइन्छ ।
आफ्नो विज्ञापनमा प्रायोजित ढंगले लाइक बढाउने सुविधा पनि फेसबुकले दिएको छ । तामाङका अनुसार सय लाइक पाउन १० डलर र १००० लाकइ पाउन ९० डलर खर्चिनुपर्छ ।
यसैबीच सञ्चार मन्त्रालयका उपसचिव यदु पन्थीले अनलाईनको विषयमा स्पष्ट कानुन ल्याउने तयारी भइरहेको र फेसबुक विज्ञापनको भुक्तानी प्रक्रियाबारे विज्ञसँग बसेर छलफल गरिरहेको बताए।
Source of News ==> Setopati

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger