७ मंसिर, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजनीतिक सहमति हुन्छ भने आफू सरकार छोड्न तयार रहेको बताउनुभएको छ ।
विहीबार साँझ राष्ट्रवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो- ‘वर्तमान सरकार सहमतिका लागि जुनसुकै वाटो खोल्न त्याग र वलिदान गर्न पनि तयार छ । यदि देशमा राजनैतिक सहमति हुन्छ भने जुनसुकै बेला सरकार छोड्न तयार छ ।’ प्रधानमन्त्रीको निश्कर्ष छ, ‘राजनैतिक सहमति विना संविधान लेखन, प्राप्त उपलब्धीको रक्षा र दीगो शान्ति एवं संवृद्ध नेपाल निर्माण सम्भव छैन ।
विहीबार दिनभरिजसो प्रधानमन्त्रीले राजीनामा देलान् कि भन्ने मानिसहरुको अनुमानलाई गलत सावित गर्दै प्रधानमन्त्री डा.भट्टराईले सहमतिका लागि सरकार कहिल्यै बाधक नभएको र भविश्यमा पनि नहुने बताउनुभएको छ । राजनैतिक सहमति विना संविधान लेखन, प्राप्त उपलब्धीको रक्षा र दीगो शान्ति एवं संवृद्ध नेपाल निर्माण सम्भव छैन भन्दै भट्टराईले सम्बोधनमा भन्नुभयो- ‘सहमतिका लागि न्यूनतम साझा आधार पहिल्याउन र समझदारी कायम गरी मुलुकका सामुका चुनौती सम्बोधन गर्न हामीले ढीलो गर्नु हुँदैन भन्ने सरकारको दृढ धारणा रही आएको छ ।’
निर्वाचनका लागि आवश्यक कानुन निर्माण र राजनैतिक समझदारी कायम गर्न दलहरु असमर्थ हुँदा तोकिएको समयमा संविधान निर्माण हुन नसकेको तर्क गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानसभाको निर्वाचन गराउने प्रयासमा यो सरकार दृढतापूर्वक लागि रहेकोछ ।’
प्रधानमन्त्रीले आफ्नो साढे ६ पृष्ठ लामो सम्बोधनमा सरकारले विगतमा गरेका कामहरुको फेहरिस्थ प्रस्तुत गर्नुभएको छ । विपक्षीको विरोध र अवरोधका बाबजुद सरकारले जनपक्षीय काम गर्न खोजेको उहाँको दाबी छ । आफ्नो सरकार संविधानसभाले चुनेको चौथो सरकार थियो भन्दै भट्टराईले आफू प्रधानमन्त्री बन्दा जनताको अपेक्षा धेरै रहेको स्मरण गर्नुभएको छ । आफूले सरकारमा रहँदा संविधान, शान्ति, सुसासन र संवृद्धिलाई चार ‘स’को प्राथमिकता तोकेको उल्लेख गर्नुभएको छ ।
‘विरोध रचनात्मक हुनुपर्दथ्यो । राजनीतिक दललाई जतिसुकै आह्वान गर्दा पनि असहयोग गर्ने, बैठकमा नजाने, सरकारले ल्याएका जनपक्षी काममासमेत असयोग गर्ने काम भैरहे ।’, प्रमले विपक्षीदलहरुप्रति असन्तुष्टि पोख्दै भन्नुभयो । ‘तर, मैंले जनताको सेवा गर्ने मूलमर्मलाई आत्मसाथ गरें ।’
आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले माओवादी लडाकूहरुको उच्च प्रशंसा गर्नुभएको छ । त्यसैगरी काठमाडौंको सडक विस्तार, शासकीय सुधारको कार्ययोजना आदिलाई सरकारको उपलब्धीका रुपमा प्रस्तुत गर्नुभएको छ ।
भिडियो हेर्नुहोस्
<<==>>

0 comments:
Post a Comment