बिदेशीको आँखामा स्वर्ग - हाम्रो देश नेपाल

केही वर्षअगाडि कतारबाट म्युनिखका लागि उडिरहेको थिएँ। मेरो छेउको सिटमा एक जना गोरा थिए। उनको अंग्रेजी उच्चारणबाट लाग्यो- उनी ब्रिटिश वा अमेरिकन होइनन्। उनी असाधारण मोटा थिए। उनको कम्मरमुनिको मासुको थलथलले ठेलेर मलाई चट्पटाउन पनि कठिन भइरहेको थियो। म झ्यालबाट तल जमिन हेरिरहेको थिएँ। जताततै मरुभूमि थियो तर ठाउँठाउँमा आगोका ज्वाला। तेल खानीहरुबाट तेल झिकिरहेका दृश्य थिए ती। 

उनले कुरा झिके र हाम्रो गफ सुरु भयो। उनी 'मिनियचर' बोटलबाट ठाडै रक्सी पिउँथे। उनीसँग एक झोला स-साना रक्सीका बोतल थिए। उनी प्लेनमा उड्न डराउँदा रहेछन्। ओस्कार अवार्ड जितेका एक जर्मन फिल्म निर्देशक रहेछन् उनी। मैले 'नेपाली' भनेपछि उनी मसँग नजिक भए। खुलेर कुरा गर्न थाले। नेपाल पुग्नुभएको छ? मेरो यस प्रश्नमा उनले उत्तर दिए- 'एक पटक!' म अभागी मानिस हुँ। मेरो मोटो शरीर पहाडमा हिँड्न सक्दैन। शायद 'स्वर्ग भनेको नेपाल नै हो।' 
'तर हामी गरिब छौं। मेरा देशका जनताले अघाउन्जेल भात पनि खान पाउँदैनन्।' उनले तत्कालै भने- त्यो तल मरुभूमिमा केही छ? त्यहाँ तेल छ केवल। त्यो पनि एक दिन सकिनेछ। यहाँका मानिसले तेल बेचेर जीवनलाई चाहिने सबै कुरा किन्नुपर्छ। तर तिम्रो देश हरियालीले भरिएको छ। उत्तरमा अमृतजस्तो पानीका मुहान हिमाल छन्। पानीमात्रै पिएर महिनौं बाँच्न सकिन्छ। सबै जडीबुटी, फलफूल तिम्रै देशमा छन्। आधा घण्टा आकाशमा उड्दा जीरो डिग्रीको चिसो र ३५ डिग्रीको तातो फेला पर्छ। प्रकृतिले नेपाललाई एउटा उद्यान बनाएको छ। मेरो शरीरले अनुभूति दिए म त्यहाँ फिल्म खिचेर हरेक साल ओस्कर जित्ने थिएँ। प्रकृतिले तिमीहरुलाई सबैथोक दिएको छ, त्यसैले अरबमा भएको तेलचाहिँ दिएको छैन किनभने त्यो पनि दियो भने युरोप र गल्फमा बस्ने हामीमाथि अन्याय हुन्छ। 
कृष्णप्रसाद भट्टराई पहिलो पटक प्रधानमन्त्री हुँदा सिंगापुर पुग्नुभएछ, शायद जापानबाट फर्कंदा। सिंगापुरमा बस्दा बेलुकी त्यहाँका नेपालीहरुले रात्रिभोज राखेका रहेछन्। भर्खरै प्रधानमन्त्रीको पद छाडी मन्त्रीको पदमा कार्यरत् लि क्वान यु पनि रात्रिभोजका पाहुना रहेछन्। भट्टराईलाई लिले भनेका थिए रे- बूढेसकालमा नेपालजस्तो देशमा आराम गर्ने चाहना छ।
नेपाल अभूतपूर्व धनी देश हो। यसका भौगोलिक र सांस्कृतिक विविधता यसका गौरवका चरित्र हुन्। यस भूमिलाई नेपाल भनिन्छ। नेपाल शब्दले 'कुनै जात, धर्म, संस्कृति सम्प्रदाय जनाउँदैन।' यो शब्द आफैंमा धर्म, जात र संस्कृति निरेपक्ष छ। त्यसैले कोही पहाडे नेपाली छ कोही मधेसी नेपाली छ। कोही हिन्दु नेपाली छ, कोही बौद्ध नेपाली र अन्य नेपाली। कोही बाहुन, क्षत्री, नेवार, किराँत, मगर र गुरुङ नेपाली। सयौं विविधता छ तर सबै नेपाली। पहिला एक 'नेपाली' अनि विविध। हाम्रो यो ऐतिहासिक तथ्यलाई केही मानिस भने भत्काउन खोज्दैछन्। 
राजनीति, कानुन र अन्य मूल्य/मान्यता स्थायी होइनन्। यी परिवर्तनशील प्रक्रियामात्र हुन्। कुनै खास समयमा उपयुक्त ठानिएको राजनीति र कानुन अर्को समयमा काम लाग्ने हुँदैन। हिजो जयस्थिति मल्लले 'मानव न्यायशास्त्र' बनाए र पहिलो पटक कानुनमा जात र जातको उचता-निचता घोषणा गरे। उनको यो 'मानव न्यायशास्त्र' वनारसबाट ल्याइएका चार जना 'झा र मिश्र' पण्डितले बनाएका थिए। यसरी पहिलोपटक नेपाल उत्तर भारतमा मौलाएको रुढीवादी हिन्दु वर्ण धर्मको उपनिवेश भयो। पहाडका बाहुन र क्षत्री र काठमाडौंका नेवार पनि यस संस्कृतिका दास भए। १८५४ (वि.सं.) मा जंगबहादुरले मुलुकी ऐन बनाए। मतवाली र तागाधारी, पानी चल्ने मतवाली र पानी नचल्ने मतवालीमा नेपाललाई विभाजित गरे। यो मुलुकी ऐन बनाउने मानिस पनि वनारसका झा र मिश्र नै थिए। देशको पहाड खण्डमा वैश्य भन्ने जात छैन। दलितलाई शुद्र भन्ने गरिएको पनि छैन। तर विदेशीहरुले लेखेका समाजशास्त्रका कितावमा 'पहाडका जनजाति' संस्कृताइजेसनको शिकार भए भनी लेखिएको पाइन्छ। त्रिभुवन विश्वविद्यालयमा पनि समाजशास्त्रमा यही पाइन्छ। हो, 'संस्कृताइजेसन' भयो तर कोबाट? समस्याको चुरो कुरो हाम्रो सामाजिक व्यवस्था हिन्दु वैद्धान्तिक दर्शनका रुढीवादी मान्यताबाट प्रभावित भयो, त्यसका शिकार बाहुन, क्षत्री, जनजाति, दलित सबै भए।
यो रुढीवादी दर्शनको प्रभाव झन् धेरै मधेसमा पर्यो,। मधेसमा दलितमाथि हुने व्यवहारलाई हेर्दा प्रष्ट हुने नै छ। रुढीवाद, अन्धविश्वास, अरुका पीडालाई आफ्नो पीडा नदेख्ने र मुखले ठूलाठूला गीत गाए पनि व्यक्तिगत स्वार्थका लागि चटक्कै देश छाड्ने प्रवृत्ति हाम्रा संस्कृति हुँदै आएका छन्। यति राम्रो देश हामी नेपालीका गलत प्रवृत्तिको शिकार भएको छ। यो जर्जर 'संस्कृति' विरुद्धको लडाइँ देशको सबैभन्दा ठूलो समस्या हो। यस संस्कृतिले जहिले पनि विज्ञान, चेतना र बौद्धिकतामाथि प्रहार गर्छ। त्यस कारण संविधान निर्माणमा देशका विश्वविद्यालयहरुको कुनै भूमिका रहेन। संविधान निर्माणमा खट्नुपर्ने वकिलहरुले जुलुस निकाल्नुपर्योि। देशका समाजशास्त्री, इतिहासविद्हरुलाई राजनीतिले कहिल्यै खोजेन। देशका योजनाविद्, अर्थशास्त्री र भूगोलविद्हरुलाई राजनीतिले कहिल्यै खोजेन। बरु विदेशीलाई राजनीतिक दलका नेताले सलाम गरे। 
सबै सोध्छन्- अहिले 'वर्तमान' अवस्थाको निकास के हो? मैले बुझेको 'निकास' हाम्रो प्रवृत्तिमा परिवर्तन हो। हाम्रो देश बनाउन हामी सक्छौं भन्ने अठोट निर्माण निकासको पहिलो कदम हो। देश र राष्ट्रियता पहिलो सर्त हो, त्यसपछि अरु कुरा हुन् भन्ने मनोविज्ञान निर्माण निकासको दोस्रो कदम हो। राष्ट्रका सबै इमानदार बौद्धिकहरु, व्यवसायी र वैज्ञानिकहरुले समाजको रुग्ण संस्कृति परिवर्तनद्वारा समाजमा उत्पीडनमा परेका, सीमान्तकृत अवस्थामा पुर्यािइएका र भेदभावका शिकार भएका गरिब मानिसलाई विकासको पहिलो खुड्किलोमा ल्याउने अभियोजनको सुरुवात निकासको तेस्रो कदम हो। राष्ट्रप्रतिको कर्तव्य र पछाडि पारिएकाको विकासको प्रथामिकता निर्धारण निकासको चौथो कदम हो। यी सबै सत्य स्वीकार गरिएपछि मात्र निर्वाचनका कुरा उठाउनुको तात्पर्य होला। त्यसैले अब निर्वाचन कि संविधान सभाको पुनरावृत्ति होइन, नेपालको सुरक्षा, नेपालीको अस्तित्व, नेपाली राष्ट्रिय मनोविज्ञान र नेपाली समाजका सद्भावका आधार के हुन भनी पहिचान गर्न केन्द्रित हुनुपर्छ। त्यसले मात्र देशको स्वाधीनता र नेपाली राष्ट्रको इतिहास संरक्षण गर्नेछ। 

<<==>>

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger