कसको सरकारले चुनाव घोषणा गर्ने भन्ने बिबाद
२ पुस, काठमाडौं । सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन माओवादीले अघि सारेका पूर्व सर्तमा कांग्रेस र एमाओवादीवीच सहमति जुट्न नसक्दा निकै नजिक आइपुगेको भनिएको ‘सहमति’ झन्-झन् टाढा पुगेको छ ।
माओवादीले बाबुराम भट्टराईको सरकारले नै चुनावको मिति घोषणा गर्ने र त्यसका लागि कानुनी बन्देज फुकुवा गर्ने र संबैधानिक निकायमा नियुक्ति गर्न पाउनुपर्ने सर्त राखेको थियो । साथै उसले बाबुराम भट्टराई नेतृत्वको सरकारमा केही दिनका लागि मात्रै भएपनि कांग्रेस-एमाले आउनुपर्ने सर्त राखेको थियो ।
वैठकमा सहभागी नेताहरुका अनुसार माओवादीका अधिकांश सर्तमा कांग्रेस र खासगरि सभापति सुशील कोइरालाले असहमति जनाउनु भएको छ । प्रचण्ड, माधव नेपाल र कृष्ण सिटौलावीच भएका सहमतिका बुँदामा समेत सुशीलले असहमति जनाएको सूत्रहरुको दावी छ । ‘यो सरकारले घोषणा गरेको निर्वाचन पनि मान्दिन, कानुन मिलाउने र मिति घोषणा गर्ने मै प्रधानमन्त्री भएपछि गर्छु भन्ने जिकिर सुशीलमा देखियो’- एक माओवादी नेताले अनलाइनखबरसँग भने-ती बिषयमा सहमति नभई प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिनुभयो ।’
आइतबार माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेपछि देश सहमतितर्फ गएको बताउनुभएको थियो । सोमबार विहान प्रचण्डनिवासमा एमाले नेता माधव नेपाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र प्रचण्डवीच भएको त्रिपक्षीय छलफलपछि बेलुका दलहरुको संयुक्त बैठक बस्ने बताइएको थियो । तर, साँझसम्म संयुक्त बैठक बस्न नसकी वीचैमा भाँडिएको छ ।
के भएको थियो सहमति ?
प्रधानमन्त्रीले सहमति तोडेको आरोप कांग्रेस नेताहरुले लगाए पनि माधव नेपाल, कृष्ण सिटौला र प्रचण्डवीच के सहमति भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन । प्रचण्ड कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठन गर्न सहमत भएको कांगस्रेको दाबी रहे पनि प्रचण्ड र प्रधानमन्त्रीनिकटस्थ स्रोत भने यस्तो कुनै सहमति नभएको बताउँछ । बालुवाटार स्रोत भन्छ-’कांग्रेसले यही सरकारमार्फत् बाधा अड्काऊ फुकाउन मानेपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने भनिएको हो, तर, कांग्रेसले यो सरकारमार्फत बाधा अडाउ फुकाउन र चुनावको मिति घोषणा गर्न मानेन ।’
कांग्रेसको तर्क
कोइराला निवासमा सोमबार भएको आन्तरिक बैठकपछि कांग्रेस नेताहरुले सहमतीय सरकार निर्माणका लागि प्रधानमन्त्री बाधक बनेको आरोप लगाएका छन् । प्रचण्ड कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठन गर्न सहमत भएपनि प्रधानमन्त्रीले राजीनामा दिन अस्विकार गरेकाले सहमतिको वातावरण फेरि बिगि्रएको उनीहृरुको आरोप छ । बैठकपछि काँग्रेस नेता डा रामशरण महतले भन्नुभयो-’प्रचण्डजी सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न सहमत भएपनि प्रधानमन्त्रीले नमानेपछि सहमति हुन सकेन ।’ माओवादी र मधेसी मोर्चाले बैशाखमा निर्वाचन गर्न नचाहेकाले विभिन्न वहाना बनाएर सहमति भाड्न खोजेको कांग्रेस नेताहरुको आरोप छ । कांग्रेसले सहमतिको प्रयास जारी राख्ने भन्दै केही दिन समय दिन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
एमाओवादी तर्क
कांग्रेसका नेताहरुले सहमति नहुनमा प्रधानमन्त्रीलाई दोष लगाए पनि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने कांग्रेसकै कारण सहमति हुन नसकेको बताउनुभएको छ । पौडेलले अनलाइनखबरसँग भन्नुभयो- ‘प्रधानमन्त्रीले राजीनामा दिन नमानेको भन्ने कांग्रेसको एकतर्फी कुरा हो, हामीले यत्तिकै राजीनामा दिने भनेकै थिएनौं, त्यसका लागि शर्त थियो-चुनाव सुनिश्चित हुनुपर्छ, चुनावको मिति घोषणा गर्नुपर्छ, त्यसका लागि कानुनी अड्चन यही सरकारले हटाउनुपर्छ, संबैधानिक निकायमा नियुक्ति गर्नुपर्छ र यही सरकारलाई केही दिनका लागि भएपनि राष्ट्रिय स्वरुप दिनुपर्छ । त्यसपछि मात्रै कांग्रेसलाई नेतृत्व दिने भनिएको हो । यी सवै कुरा नभई प्रधानमन्त्री मात्रै फेर्दा कसरी समस्या समाधान हुन्छ ?
‘चुनाव सुनिश्चित गर्ने बिषयमा कुरै नगर्ने अनि राजीनामा मात्र कुरा गर्दा प्रधानमन्त्रीले राजीनामा दिन्न भन्नुभएको हो ।’- पौडेलले भन्नुभयो-’चुनाव सुनिश्चित हुने अवस्थामा राजीनामा नदिने भन्ने कुरै छैन, उहाँले राजीनामा दिनुहुन्छ । बैशाखमा संविधानसभाको चुनाव हुने सुनिश्चित भए प्रधानमन्त्री पद त्याग्न तयार हुनुहुन्छ, एक मिनेट पनि बस्नुहुन्न ।’ ‘तर, हामी गरिहाल्छौं नि भन्ने हिसाबले उधारो सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न ।’- पौडेलले भन्नुभयो ।
पाँचौंपटक म्याद थपिने
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि चौथोपटक दिइएको समयसीमा सोमबार साँझ सकिएपछि अब फेरि दलहरुले पाँचौपटक पनि म्याद थपका लागि आग्रह गर्ने भएका छन् । मंसिर पहिलो सातादेखि नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले गरेको पटक-पटकको आग्रह दहरुवीच सहमति नहुँदा खेर गइरहेको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला ! 

0 comments:
Post a Comment