दूध र घिउको भाउ बढ्यो

काठमाडौं, मंसिर १७ (नागरिक)-कारखानाको उत्पादन लागत बढेको भन्दै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डिडिसी)ले प्याकेटको दूध र घिउको भाउ बढाएको छ। डिडिसीले दूधको भाउ बढाएपछि निजी डेरीहरुले पनि आजदेखि दूधको भाउ बढाउने निर्णय गरेका छन्। 

संस्थानले शनिबारदेखि दूध र घिउको भाउ बढाएको हो। संस्थानको शुक्रबार बसेको बोर्ड बैठकले दूधको भाउ बढाउने निर्णय गरेको थियो। डिडिसीले भाउ बढाएपछि शनिबार निजी डेरीहरुले पनि मूल्यवृद्धिको निर्णय गरेका हुन्।
डिडिसी र निजी डेरीको दूध अब ग्राहकले पहिलेको भाउभन्दा प्याकेटमा १ रुपैयाँ महँगोमा किन्नुपर्नेछ। पहिलो दूधको मूल्य गुणस्तरअनुसार न्यूनतम प्याकेटको २४ रुपैयाँ थियो। अब भने न्यूनतम प्याकेटको २५ रुपैयाँ भएको छ।
डिडिसीले नीलो प्याकेट दूधको भाउ २५ रुपैयाँ र हरियो प्याकेटको भाउ २९ रुपैयाँ बनाएको छ। घिउमा भने डिडिसीले प्रतिलिटर ४० रुपैयाँ बढाएको छ। पहिले लिटरको ५ सय १० रुपैयाँ पर्ने घिउको भाउ अब ५ सय ५० रुपैयाँ पर्नेछ।
'डिजेल र विद्युतको मूल्यवृद्धि एवं प्याकेजिङका सामानको भाउ बढेकाले दूधको उपभोक्ता मूल्य बढाउनुपरेको हो,' संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले भने, 'भाउ नबढाए किसानलाई दूधको पैसा दिनै नसकिने स्थिति आएको थियो।' संस्थानले उपभोक्ता मूल्य बढाए पनि किसानलाई दिने मूल्य भने बढाएको छैन। अहिले दूधमा रहेको फ्याट(चिल्लो पदार्थ)का आधारमा किसानले न्यूनतम ३२ रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्य पाउदै आएका छन्।
अहिले दूध आउने(फ्लस) सिजन भएकाले दूध बढी आएर डिडिसीले पाउडर बनाउनुपर्दा पनि लागत बढेको सिंहले बताए। 'अहिले दैनिक ८० हजार लिटर बढी दूध लिएर हामीले पाउडर बनाइरहेका छौं,' उनले भने, 'यसले लागत बढाएको छ।' संस्थानले मिल्क होलिडे(बढी दूध आएर किसानको दूध नलिने अवस्था) हुन नदिन बढी दूध किनेपछि घाटा बढेको उनले बताए। हाल डिडिसीले बढी ८० हजार लिटरमध्ये ४० हजार लिटर दूध दैनिक चितवन मिल्कलाई दिएर पाउडर बनाउन लगाएको छ। यो पाउडर पनि संस्थानले खरिद गर्ने सम्झौता छ।
'सबै कारणले ५० प्रतिशत लागत बढेको छ, यसले किसानको पैसा तिर्न नसक्ने अवस्था आउने भएकाले बाध्य भएर बढाएका हौं,' उनले भने। किसानसँग किन्ने दूधको भाउ नघटाइएकाले किसानलाई मर्का नपर्ने उनको दाबी छ। संस्थानको बोर्ड बैठकले किसानलाई दिने मूल्यका विषयमा निर्णय गर्न भने एक समिति बनाएको छ। राष्ट्रिय दुग्ध विकास बोर्डक कर्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा समिति बनाइएको हो। यो समितिको प्रतिवेदनका आधारमा मूल्य पुनरावलोकन गर्ने सिंहले बताए।
कारखाना लागत बढेकाले भाउ बढाउने निर्णय गरेको डेरी उद्योग संघका सदस्य केशव लामिछानेले बताए। 'डिजेल लिटरको ८३ रुपैयाँबाट ९७ भयो, बिजुलीको महसुल २० प्रतिशत बढ्यो, प्याकेजिङ प्लास्टिकको भाउ किलोमा २० रुपैयाँ बढिसक्यो,' लामिछानेले भने, 'यसलाई समायोजन गर्न भाउ बढाउनुको विकल्प थिएन।' उनले अहिलेको वृद्धिले व्यवसायीलाई केही राहत मिलेको बताए।
उपभोक्ता मूल्य बढाएपछि सरकारले किसानलाई बिमालगायत सुविधाहरु दिनुपर्ने व्यावसायिक दुग्ध उत्पादन किसान समाज चितवनका अध्यक्ष आनन्द न्युरेले बताए। उनले अहिले किसानहरुले पाइरहको भाउमा घाटा नभए पनि सरकारले सुविधा दिनुपर्ने माग गरे। डिडिसीले गत वर्ष माघमा भने किसानको मूल्य बढाउनुपरेको भन्दै उपभोक्ता मूल्यवृद्धि गरेको थियो।

कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger