१७ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालकी धर्मपत्नी एवं नेकपा एमाले नेतृ साहना प्रधानको बोल्ने क्षमता बन्द भएको छ ।
नाताले साहनाका सोल्टी पर्ने अर्का एमाले नेता भरतमोहन अधिकारी दिल्लीको मेदान्त अस्पतालमा मुटुसम्बन्धी उपचार गराइरहनुभएको छ । तर, प्रधान भने लामो समयदेखि आफ्नै घरमा गुमनाम ढंगले ओछ्यान पर्नुभएको छ । राजनीति र महिला अधिकारका क्षेत्रमा पहिले निकै चर्चा हुने साहनाको अवस्था अहिले गुमनाम छ ।
नेपालको प्रजातान्त्रिक र महिला अधिकार आन्दोलनकी एकजना अगुवा सहाना प्रधानको नाम विगतमा राष्ट्रपतिको उमेद्वारका रुपमा समेत चर्चा चलेको थियो । अहिले प्रधानमन्त्रीको खोजी भैरहेका बेला कुनै महिला नेतृहरुले समेत साहनालाई सम्झेका छैनन् । महिला हिंसा विरुद्धको अभियानमा समेत उहाँलाई कसैले सम्झेनन् ।
डेढ वर्षअघिसम्म महिला अधिकार र राजनीतिसँग जोडिएका जुनसुकै कार्यक्रममा पनि ठमठमी हिँडेर पुग्ने र मञ्चमा उभिएर भाषण गर्ने एमाले नेतृ प्रधान यतिबेला न सार्वजनिक कार्यक्रम, न दलको बैठककतै जानुहुन्न । ‘झण्डै एकवर्षदेखि उहाँ ओछ्यान पर्नुभएको छ’ एमाले नेता कृष्णगोपाल श्रेष्ठले अनलाइनखबरलाई भन्नुभयो-’न बोल्न सक्नुहुन्छ, न हिँड्न । ओछ्यानमै आराम गरिरहनुभएको छ ।’
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकी पत्नी भएको नाताले मात्र होइन, सहानाको आफ्नै व्यक्तित्व र उचाइ छ । ऊबेला एमालेले चाहेको भए उहाँ राष्ट्रपति बन्न सक्नुहुन्थ्यो । नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्ने क्षमता र सम्भावना पनि उहाँमा थियो । तर, स्वस्थ रहँदासम्म उहाँलाई पार्टीले कहीँ स्थान दिएन । अहिले बिरामी भएपछि यो सम्भावना टरेको छ ।
८४ वर्षीया सहानाको बुढ्यौली बाहेक ठूलो स्वास्थ्य समस्या नभएको पारिवारिक स्रोत बताउँछ । उमेरले ८४ वर्ष कटे पनि उहाँको स्मरणशक्ति भने अझैसम्म राम्रै रहेको बुझिएको छ । गोडाको हड्डी खिइएका कारण हिँडडूलमा समस्या पर्छ । बोली प्रष्ट छैन । बोल्दा जिब्रो लर्बराउँछ । कोही भेट्न जाँदा उहाँ इशाराले मात्रै बोल्ने गर्नुहुन्छ ।
प्रधानलाई भेट्नेहरुका अनुसार शरीर सुक्दै गए पनि उहाँका आँखा चम्किला छन् । अनुहार उज्यालो छ । कोही भेट्न जाँदा उहाँ मोटो चस्मा लगाएर एकोहोरो हेर्नुहुन्छ । राम्ररी कुरा सुन्न र जवाफ फर्काउन सक्नुहुन्न ।
अधिकारी झनै अस्वस्थ
साहनासँग पारिवारिक निकटता रहेका एमालेका अर्का एकजना बृद्ध एवं अग्रज नेता भरतमोहन अधिकारी पनि यतिबेला अस्वस्थ हुनुहुन्छ । सञ्चो हुनेबित्तिकै राजनीतिक भेटवार्ता र छलफलमा व्यस्त हुने अधिकारीलाई अहिले मुटुमा रगत चुहिने समस्या देखिएको छ ।
भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारत् नेता अधिकारीको मुटुको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । ७६ वर्षीय अधिकारीमा दमको समेत समस्या छ । एमाले सचिव युवराज ज्ञवालीले अनलाइनखबरलाई भन्नुभयो-’चिकित्सकहरुले अधिकारीको शल्यक्रिया गर्ने भनेका छन् ।’

0 comments:
Post a Comment