Wednesday
January 16

दामिनी फोटो प्रदर्शनीमा यस्ता छन् तस्बिर


भाषा शर्मा, ललितपुर, माघ ४ - 'अकुपाई बालुवाटार' नाम दिएर काठमाडौंमा महिला हिंसाविरुद्ध आन्दोलन चलिरहेको बेला 'काठमाडौं स्कुल अफ ल'की विद्यार्थी पुष्पा पलाञ्चोकीले 'दामिनी' शीर्षकमा फोटो प्रदर्शनी गरेकी छन्।
उनले फोटोमार्फत् हिंसाविरुद्ध ऐक्यवद्धता जनाएकी हुन्। ललितपुरको आर्टिस्ट प्रुफ ग्यालरीमा राखिएका ४८ फोटोका दृश्यले नारीमाथिको हिंसाको अवस्थालाई देखाउँदछ।
'महिला हेर्दा सामान्य अवस्थामा देखिए पनि कतै न कतै बाँधिएका हुन्छन्,' उनले भनिन्, 'समाजबाट संघर्ष गरेर बाहिर आउन गाह्रो छ।' उनले तस्बिर कथामा आफैलाई उतारेकी छन्।
एक युवती स्वतन्त्र हिँड्दै गर्दा हुनसक्ने असुरक्षालाई विषय बनाएकी छन्। कुनै पुरुषले फसाएर उनीमाथि गर्ने अपमान, दुव्यर्वहार, बलात्कार सम्मको पीडाको दृश्य देखाइएको छ। बलात्कारपछि युवतीको संघर्ष, मानसिक अवस्थालाई तस्बिरमा उतारिएको छ।
भारतमा गुडिरहेको बसमा एक युवतीमाथि भएको सामुहिक बलात्कारको घटना सुनेपछि महिला हिंसालाई फोटोमा उतार्न मन लागेको बताइन्। आफ्नै धारणामा तयार गरेकी हुन्। उनी भन्छिन् 'दक्षिण एसियाकै महिलामाथि हुने हिंसालाई देखाउन खोजेकी छु।'
पलाञ्चोकीले पहेंलो, हरियो र सेतो रङमा फोटोलाई कथामा उतारेकी छन्। पहेंलो रङलाई एसियाका महिलाको प्रतिनिधित्व गराउन खोजेको बताइन्। हरियो रङले नेपाली महिलाको अवस्था र सेतो रङले पीडापछिको अवस्थालाई दर्शाएकी छन्।
'हिंसापछिको पीडा सहन नसक्ने कतिपय युवती संघर्ष गर्न नसकेर निराशामा फस्छन्,' उनी भन्छिन्, 'कसैको जीवन नै मरेतुल्य हुन्छ। एउटी सुन्दर र स्वतन्त्र महिला जीवनयात्राको क्रममा बलात्कृत हुँदाको दर्दनाक पीडा उनको तस्विर कथामा देख्न सकिन्छ।
कथाको लागि तस्विर स्वयम्भु, ग्वार्को, टौदहमा लिइएको थियो। अभिषेक मास्के र सिलु जैनले तस्बिर खिचेका छन्। फोटोको मूल्य सातहजारसम्म तोकिएको छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शनी बिहीबार सकिँदैछ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger