विस्थापित पत्रकारले भने : 'ज्यान खुकुरीको धारमा भयो'

कलेन्द्र सेजुवाल, सुर्खेत, माघ १२- पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाले अहिले पनि आफ्नो ज्यान खतरामुक्त देखेका छैनन्। डेकेन्द्र थापा प्रकरणलाई उचालेको आरोपमा माओवादी कार्यकर्ताबाट 'थ्रेट' बढेपछि उनी जिल्लाका सहकर्मीसहित बिहीबार मध्यरात सुर्खेत आइपुगे। 'सानो ठाउँमा ज्यान जोगाउन कठिन हुँदो रहेछ,' शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, 'सुरक्षाको पूर्ण ग्यारेन्टी नहुँदासम्म दैलेख जान सकिने अवस्था छैन।'

पुष्करजस्तै दैलेखका २२ पत्रकार अहिले विस्थापित भएर सुर्खेत आइपुगेका छन्। पछिल्लो समय माओवादी कार्यकर्ताबाट दिनदहाडै 'डेकेन्द्र थापाको हालत बनाउने' धम्की आएपछि जिल्ला छोड्नु परेको उनीहरुको भनाइ छ। 'डेकेन्द्रको हत्यादेखि हाम्रो ज्यान सधैं खुकुरीको धारमा रह्यो,' महासंघका पूर्व जिल्ला अध्यक्ष विष्णु शर्माले भने, 'प्रधानमन्त्री बाबुराम भट्टराई जिल्लामा गएर झडप गराएपछि त झन् कतिबेला के हुने हो भन्ने चिन्ताले सताइरह्यो।' आफ्नो उपस्थितिले जिल्लामा झडप हुने थाहा हुँदाहुँदै प्रधानमन्त्री भट्टराई तनाव गराउनकै लागि दैलेख आएको उनले बताए।
अर्का पत्रकार भूपेन्द्र शाहीले सरकारले लिखित रुपमा पत्रकार सुरक्षाको ग्यारेन्टी नलिँदासम्म फर्किन सक्ने अवस्था नरहेको बताए। 'त्रासकै कारण १० दिनदेखि बजार नजिकैको घरमा जान सकिएन,' उनले भने, 'यस्तो सन्त्रास त संकटकालमा पनि भएन।' शान्तिपूर्ण रुपमा बस्ने र लेख्ने अवस्था भए घर फर्किने उनले बताए।
माओवादी कार्यकर्ताद्वारा कार्यालय तोडफोड भएको हाम्रो तेस्रो आँखा दैनिकका सम्पादक गोविन्ददेव भारतीले माओवादी जिल्ला इन्चार्ज कर्ण बस्नेतले आफूलाई प्रत्यक्ष रुपमै धम्की दिएको सुनाए। 'हाम्रा पचासजना कार्यकर्ताले बजार कब्जा गर्न सक्छन्, पत्रकारले धेरै चुरीफुरी नगरे हुन्छ भन्दै धम्की दिए,' उनले भने, 'मान्छेलाई ज्यूँदै गाड्न बानी परेका मान्छेले यति भनेपछि सानो ठाउँमा कसरी बस्न सकिन्छ?'
पत्रकार डेकेन्द्र थापाका भाइ यज्ञराज थापाले डेकेन्द्र प्रकरणलाई तुहाउनकै लागि पत्रकारलाई विस्थापित बनाउने षड्यन्त्र भएको बताए। घटनाको अनुसन्धान गरिरहेका प्रहरी प्रमुखदेखि प्रमुख जिल्ला अधिकारीको सरुवा पनि स्वर्गीय दाजु हत्याकाण्डका अभियुक्तलाई जोगाउन भएको उनको आरोप छ। 'हामीलाई थातथलो छोडेर बाहिर बस्न मन थिएन,' नेपाल समाचारपत्रका जिल्ला संवाददाता थापाले भने, 'तर समाचार लेख्नु त टाढाको कुरा, हिँड्डुल गर्नै गाह्रो भएपछि सुरक्षा खोज्दै यहाँ आउनु पर्‍यो।' पत्रकारको सुरक्षामा संवेदनशील मानिएका सुरक्षाप्रमुखको सरुवापछि खतरा झन् बढेको उनले बताए।
विरोध प्रदर्शन
विस्थापित पत्रकारको उपस्थितिमा शुक्रबार सुर्खेतका पत्रकारले प्रदर्शन गर्नुका साथै क्षेत्रीय प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका छन्। धर्नापछि आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले पत्रकारहरु कार्यथलोबाट विस्थापित हुनु सरकारकै बेइज्जती भएको बताए। 'पहिले त पत्रकारहरु जेनतेत बसेकै थिए, प्रधानमन्त्री गएपछि झन् बस्न नसक्ने स्थिति आयो,' उनले भने, 'कानुनी राज्यमा योभन्दा सर्मनाक अवस्था अरु हुन सक्दैन।' सरकारले सुरक्षाको भरपर्दो र विश्वसनीय आधार नबनाउँदासम्म दैलेखका पत्रकारहरु कार्यथलोमा नफर्किने उनले बताए।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger