दैलेखमा विपक्षीको जुलुस, एमाओवादी चढेका गाडी रोकिए


९ माघ, काठमाडौं । पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुारम भट्टराई र नारायणकाजी श्रेष्ठ बुधबार जिल्ला सदरमुकाम आउने थाहा पाएपछि दैलेखमा प्रतिपक्षी दलहरुले आन्दोलन शुरु गरेका छन् । एमाओवादीको विरोधमा घरघरमा कालो झण्डा राख्ने विपक्षी ६ दलले निर्णय गरेका छन् भने भर्खरै सदरमुकाममा मसाल जुलुससमेत प्रदर्शन गरेका छन् ।
एमाओवादीको पूर्वनिर्धारित अधिवेशनमा भाग लिन सुर्खेतको सीमाक्षेत्रबाट एमाओवादी कार्यकर्ता बोकेर दैलेख सदरमुकामतर्फ लागेका ४ वटा गाडी गुराँसे भन्ने स्थानमा विपक्षी दलका कार्यकर्ताले रोकेर राखेको एमाओवादी नेताले बताएका छन् । ‘कुनै पनि गाडी चल्न दिइएको छैन, हाम्रा कार्यकर्ता चढेका ४ वडा गाडी गुराँसेमा रोकिएका छन्, हामीले प्रतिवाद गर्यौं भने झडप हुने अवस्था छ ।’-एमाओवादीका भेरी-कर्णाली राज्यसमिति सदस्य छवि सुवेदीले दैलेखबाट अनलाइनखबरलाई भन्नुभयो, ‘यो हाम्रो पार्टीको पूर्वनिर्धारित कार्यक्रम हो, विहान विपक्षी दलका नेताहरुसँग वार्ता भए पनि उनीहरु आक्रमकरुपमा प्रस्तुत भएका छन् ।’
विगतमा माधव नेपाल प्रधानमन्त्री भएका बेला एमालेको दैलेख जिल्ला अधिवेशनमा तत्कालीन रक्षामन्त्री विद्या भण्डारी आउँदा आफूहरुले पार्टीको आन्तरिक कार्यक्रम भएकाले कालो झण्डा देखाउने कार्यक्रम स्थगन गरेको सुवेदीले बताउनुभयो । ‘हामीले लोकतन्त्रमा अधिवेशन नै गर्न नपाउने ?’ उहाँले प्रश्न गर्नुभयो ।दैलेखमा उत्पन्न असामान्य परिस्थितिलाई समाधान गर्न मंगलबार बिहान एमाले, कांग्रेस र एमाओवादीका जिल्ला नेतावीच सदरमुकाममा छलफल भएको थियो । एमाओवादीले आफ्नो पूर्व निर्धारित अधिवेशन निर्वाधरुपमा गर्न दिन आग्रह गरेकोमा विपक्षीले जिल्लाभरि गाडीसमेत चल्न नदिने भन्दै एमाओवादीको प्रस्ताव ठाडै स्वीकार गरेपछि स्थिति जटिल बनेको स्रोत बताउँछ ।
एमाओवादीले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रचण्डसमेतको उपस्थितिमा काँडाचौरस्थित सैनिक ब्यारेक छेऊको पुरानो टुँडीखेलमा अधिवेशन उद्घाटन कार्यक्रम राखेको छ । अधिवेशन १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री र प्रचण्डको टोली दैलेख पुग्ने समयबारे सोध्दा जिल्ला प्रशासन कार्यालयले सुरक्षाका कारण समय भन्न नमिल्ने बताएको छ । विपक्षीहरुले पनि बुधबार दिउँसो विरोधसभा गर्ने भएका छन् । अधिवेशनमा भाग लिन जिल्ला-जिल्लाबाट आउने प्रतिनिधिलाई समेत विपक्षीले सदरमुकाम आउन नदिने नीति लिएको एमाओवादी नेताको गुनासो छ । एमाओवादीको पूर्वनिर्धारित अधिवेशनमा प्रधानमन्त्री र प्रचण्ड लगायतका नेताहरु जाने थाहा पाएपछि दैलेखमा विपक्षी दलहरु आन्दोलनमा उत्रिएका हुन् । दुबैपक्षको एकै दिन कार्यक्रम भएकाले जिल्लामा दुइपक्षीय झडपको सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइएको छ ।


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger