शुक्रवार विहान एकीकृत माओवादीको काठमाण्डौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो,’मेचीदेखि महाकालीसम्म सवैभन्दा वढि लहर माओवादीकै छ । त्यो लहर देखेर विपक्षीहरु आतंकित भएर चुनावमा जान डराएका छन् । त्यसैले उनीहरु सहमति भन्दा पनि मुडभेड गर्न तम्सिएका छन् ।’ प्रचण्डले वुधवार दैलेखमा एमाओवादी कार्यक्रममाथि डुंगामुडा गरेर आफूहरुलाई लोकतन्त्रवादी भन्ने काँग्रेस-एमालेले लोकतन्त्रवादी चरित्र प्रष्ट पारेको वताउनुभयो ।
विपक्षी दल काँग्रेस-एमाले एमाओवादीको लहर देखेर तर्सिदै चुनावमा नजाने षड्यन्त्रमा लागेको प्रचण्डको भनाई छ । उहाँले सहमतिका लागि आफूहरु सरकार छोड्न तयार रहेको समेत वताउनुभयो । उहाँले भन्नुभयो,’जेठ १५ भित्र निर्वाचन हुने सुनिश्चित भए हामी सरकारमा एक मिनेट पनि बस्दैनौँ । त्यसैले पहिलो विपक्षी दलहरुले चुनाव हुने वातावरण त बनाइदिनु पर्यो नी ?’ प्रचण्डले विपक्षी दलकै कारण जेठमा पनि चुनाव हुन नसके के गर्नु पर्छ त्यो जनता आफैले गर्ने वताउनुभयो ।
यस्तै कार्यक्रममा एमाओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार प्रतिक्रान्तिको घेराबन्दी तोड्न सफल भएको बताउनु भयो । दैलेख घटना तर्फ संकेत गर्दै प्रधानमन्त्रीले प्रतिपक्षी दलहरुले माओवादीको कार्यक्रम बिथोल्न खोजेको भन्दै सरकारले प्रतिपक्षीलाई घुँडा टेकाउन सफल भएको दाबी पनि गर्नुभयो ।

0 comments:
Post a Comment