बुटवल, माघ १५ - पार्किङ गरिएको बसभित्र सामूहिक बलात्कार गरिएकी किशोरीको अवस्था नाजुक भएको छ । रोल्पाकी १५ वर्षे किशोरीमाथि बुटवल ११ बसपार्कस्थित लु१ख३६०८ नम्बरको बसभित्र बलात्कार भएको थियो ।
रोल्पाकी उनी गत पुस ७ गते काम खोजी गर्दै दाङबाट यहाँ आएकी थिइन् । अपराह्न आइपुगेकी उनलाई काम लगाइदिने भन्दै ३ युवकले बसपार्कमा रोकेका थिए । साँझ तिनै युवाले बसभित्र लगेर सामूहिक करणी गरेको प्रहरीले बताएको छ । सामूहिक करणीबाट घाइते किशोरीको राति इलाका प्रहरीले उद्धार गरेको थियो । पीडितको अवस्था नाजुक रहेको तथा अभियुक्त भाग्न सक्ने भन्दै प्रहरीले उक्त घटना लुकाएको थियो ।
एक महिनाअघि सामूहिक करणीमा परेकी किशोरीको शारीरिक तथा मानसिक अवस्था कमजोर छ । उनी अचेत अवस्थामा रहने गरेकी छन् । मानिस नजिक गयो कि डराउने र चिच्याउने गर्छिन् । परिवारसित सम्पर्क नभएकी उनलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत केआई नेपालले संरक्षण दिएको छ । संस्थाको पहलमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शारीरिक तथा मानसिक उपचार भइरहेको छ ।
चिकित्सकले उनलाई अझै एक महिना उपचार गर्नुपर्ने बताएको संस्थाका कार्यक्रम सहसंयोजक ईश्वरीप्रसाद सापकोटाले बताए । चिकित्सकका अनुसार जबरजस्ती करणीबाट किशोरीको पाठेघर च्यात्तिएको छ । मानसिक रूपमा चोट परेकाले व्यवहारमा असन्तुलन देखिएको छ । प्रहरीका अनुसार किशोरी रोल्पामा सानीआमासँग बस्दै आएकी थिइन् । बाबु कमाउन भारत गएपछि सौतेनीआमाले काम गरेर कमाएर खा भन्दै कुटपिट गर्ने गरेकी थिइन् ।
पीडा बिसाउन साताअघि काकाको घर दाङ पुगेकी किशोरी त्यहाँबाट काम खोज्दै यहाँ आएकी थिइन् । जबरजस्ती करणी अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल ९ का भीमबहादुर सुनार, रमेश थापा र वालिङ स्याङ्जाका हरि पाठक छन् । अभियुक्त पक्राउ परेपछि प्रहरीले घटना सार्वजनिक गरेको हो । अभियुक्तमाथि नाबालक जबरजस्ती करणीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले बताए ।

0 comments:
Post a Comment