भुटान ८ विकेटले पराजित
==
==
११ माघ, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको बिजेता बन्दै ट्वान्टी–२० विश्वकपको छनोट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको साबिकको उपबिजेता नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।
प्रेम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको भुटानले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा ६५ रन बनायो । उसका लागि देछिन बाङ्ग्मोले २३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । भुटानले २० अतिरिक्त रन जोडेको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान रुविना क्षेत्रीसँगै निरा राजोपाध्यायले समान २–२ विकेट लिइन् भने करुणा भण्डारी, सीता मगर र नेरी थापाले समान १–१ विकेट आफ्नो नाममा लेखाइन् ।
६६ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले १३ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालको जितमा रोशनी बोहोराले १९ तथा सीता मगरले १८ रन बनाइन् । स्कोर बोर्डमा ३ रन हुँदा मधु थापालाई व्यक्तिगत १ रनमा गुमाएको नेपालले त्यसपछि सम्हालिएर ब्याटिङ गरेको थियो । दोस्रो विकेटका रुपमा रोशनी आउट भएपछि सरिता मगरले सीतालाई साथ दिएकी थिइन् । उनी ११ रनमा अविजित रहिन् ।

0 comments:
Post a Comment