Wednesday
January 23

नमस्तेको नास


लक्ष्मण गाम्नागे
गएको शनिबार बिहान किर्तीपुर पुग्न म टेकु हुँदै फोहोरमैला रोडबाट जाँदै थिएँ । विष्णुमतीको पुल पारिपट्टी पुग्दा एकजना हँसिलो अधवैंसे मान्छे सडकबाट अलि साइड लागेर ठिङ्ग उभियो र मतिर हेरेर मुसुमुसु मुस्काउन थाल्यो । उसको हाँसो देख्दा लाग्थ्यो, उसले सबैभन्दा बढी खोजिरहेको र असाध्यै श्रद्धा गरेको मानिस मै थिएँ । मैले मोटरसाइकलको गतिलाई अलि कम गर्दै उसलाई ठम्याउने प्रयत्न गरेँ । ऊ अझ बढी उज्यालो भयो र बत्तिसै दन्त टल्काएर खुशी प्रकट गर्न लाग्यो । म एकदमै नजिक पुगेपछि उसले अलिकति झुकेर दुवै हात जोडेर विनम्रतापूर्वक नमस्ते गर्‍यो । उमेर र शारीरिक व्यक्तित्वका हिसावले मैले नै नमस्ते गरौं गरौं लाग्ने त्यो व्यक्तिलाई चिन्न आफ्नो सम्पूर्ण स्मरण शक्ति प्रयोग गरें । अहँ, मैले यो जुनीमा चाहिँ यो मान्छेलाई कतै देखेको वा भेटेको होइन । अनि म उसलाई हेर्दैहेर्दै अघि बढ्न खोजेँ । उसको हाँसो एक्कासी गायव भयो र जोडिएका हातहरू लत्रक्क भए । म बाटो लागेँ । उसले पक्कै थाहा पायो झुक्किएको र एकाबिहानै महङ्गो नमस्ते नास भएको । शायद उसलाई आफैंसँग निकैबेर लाज पनि लाग्यो होला, रिस पनि उठ्यो होला । कतिपटक मलाई पनि त्यस्तो भएको छ ।
आज मलाई नमस्तेका अनेक काण्डहरूको सम्झना भइरहेको छ । यस्ता खाले सम्झना तपाईंका पनि होलान् । बाँडिचुँडि गरौं न ! तपाईंका पनि कति नमस्तेहरू नास भएका होलान् । कतिका नमस्ते व्यर्थै खानुभएको होला ।
उहिले एकपटक झापाको गौरादह बजार छेऊ म मेरो साथी पदम काफ्लेसँग हिँड्दै थिएँ । अगाडिबाट हाम्रा प्रिय कृष्ण न्यौपाने सर र अर्को स्कूलका एकजना सर आउँदै हुनुहुन्थ्यो । हामी दुवैले कृष्ण सरलाई नमस्ते गर्‍यौं । उताबाट दुवै सरहरूले नमस्ते फर्काउनुभयो । पदमको अलि बढी बोल्ने बानी । उसले प्याच्च भनिहाल्यो ‘हामीले त कृष्ण सरलाई मात्रै नमस्ते गरेको ।’
आफ्नो आधा नमस्ते नास गरेर हामी हिँडिहाल्यौं । भोलिपल्ट कृष्ण सरले सम्झाएपछि पो थाहा भो, आफूभन्दा ठूला वा असल मान्छेलाई गरेको नमस्ते नास हुँदैन ।
असल मान्छेहरूलाई नमस्ते गर्ने क्रममा एकपटक रत्नपार्कमा एकजना खाइलाग्दा व्यक्तिलाई नमस्ते गरेको छु । भयो के भने भिडभाडमा हिँड्दा हिँड्दै अचानक ती मान्छेसँग चार आँखा भए । यसो हेरेको चिनेको मान्छे । न कलेजका गुरु हुन्, न अफिसका हाकिम हुन्, न कुनै साहित्यकार हुन् । जो भए पनि राम्रैसित परिचय भएका मानिस हुन् । नमस्ते ठोक्नैपर्छ भनेर मलाई मभित्रको दाजुले झटपट अह्राएपछि मैले समुस्कान नमस्ते ठोकें । उनले पनि अलिअलि हाँसेर हात फर्काए र खुरुखुरु बाटो लागे । नमस्ते त गरेँ तर कसलाई गरेँगरेँ भन्ने लागेर मेरो दिमाग रन्थनियो । त्यो को थियो होला भनेर बिचार गर्दै म जमलको राष्ट्रिय नाचघर छेऊमा पुगेर पत्रपत्रिकाका हेडिङ् पढ्न यसो उभ्भिएको थिएँ, पत्रिकामा त तिनै मान्छेको बढेमाको फोटो पो ड्याम्म परेर छापिएको छ बा । हत्तेरिका ! ती त मदन भण्डारी पो रहेछन् । केको चिनजान भएको मान्छे हुनु ! भर्खर भर्खर भूमिगत अवस्थाबाट माले पार्टीको प्रवक्ताको रुपमा प्रकट भएका उनलाई त्यो बेला छापिने प्रायः सबै पत्रपत्रिकाले महत्वका साथ छापेका थिए । पत्रपत्रिकामा देखेको झझल्कोले झुक्किएर पो नमस्ते ठोकिएछ । तर त्यो नमस्तेलाई मैले नास भएको ठानिनँ । मदन भण्डारी साँच्चिकै नमस्ते गर्न लायक नेता थिए । उनी मरेर गएको धेरै भइसक्यो तर पनि म उनलाई मनमनमा नमस्ते गरिरहेको छु ।
नेताजीलाई नमस्ते गरे ताकाकै कुरा हो, हामी नवदम्पति डिल्लीबजार पीपलबोटतिर तरकारी किन्न निस्केका थियौँ । अगाडिबाट एकजना ह्याण्डसम युवा हामीतिर आए । मेरी श्रीमती तरकारी छान्न छाडेर उभिइन् र त्यो युवकलाई नमस्ते गरिन् । मैले पनि झलक्क हेर्दा कतै चिनेजस्तो लाग्यो । न ससुरालीतिरका जेठान हुन्, न श्रीमतीका कलेजका साथी हुन् । म पनि नमस्ते गर्न तम्तयार पर्दैथिएँ, उनी हामीतिर राम्ररी पनि नहेरी घट्टेकुलातिर लागिसकेका थिए ।
‘ को पो हो त्यो ?’ मैले बिस्तारै सोधें ।
‘हाम्रो गाउँको दाइ । के तरकारी लाने ?’ उनले मसिनो स्वरमा कुरा अन्तै मोड्न खोजिन् ।
‘हेर्दा पनि नहेरी हिँड्नेलाई के नमस्ते गर्नु ! सरोज खनालसँग एउटै घरमा बस्नुहुन्छ कि क्या हो तपाईंहरू ? कि एउटै गाउँको हो ?’ पसले साहूनीले सोधिन् ।
‘होइन, चिनेको भएर । आलु धार्नीको कति ?’ श्रीमतीजीले पसल्नीको ध्यान आलुतिर लैजान खोजिन् ।
एकाबिहानै दुईदुई थान नमस्ते नास गरेर हामी लाजले अप्ठ्यारो मान्दै तरकारी किनेर घरतिर लाग्यौं । सरोज खनाल त्यसबेला टेलिभिजनतिर खूब जमेका थिए । अचानक प्रत्यक्ष भेट्ता हामी दुवै झुक्किएछौं । तिनले पनि यसो नमस्ते फर्काइदिएको भए हाम्रो नमस्ते नास हुने त थिएन ।
रमाइलो घटना त मैले जागिर खान थाल्दाको छ । दूरसञ्चारमा परीक्षा उत्तीर्ण गरेर पहिलो दिन जागिर खान हातमा नियुक्तिपत्र बोकेर गएँ सुन्धाराको अड्डामा । गेटबाट छिर्नासाथ एउटा कोठामा एकजना हट्टाकट्टा दौरासुरुवाल लगाएका हाकिम यताउति गर्दैथिए । मैले बकाइदा नमस्ते ठोकेँ । उनले सनम्र नमस्ते फर्काए र नियुक्तिपत्र हेरेर एक नम्बर कोठामा जानू भने । एक नम्बर कोठा ठूलो रहेछ । सेमिनार हल जस्तो । एउटा अलग्गै टेबुलमा एकजना काला, चिल्ला र तालु खुइलिएका व्यक्तित्व चुरोट तान्दै देखिए । मैले यिनै रहेछन् हाकिम भन्ने सम्झेर धकाउँदै उनलाई ‘सर नमस्ते’ भनेँ । उनले निधारसम्म चुरोट पुर्‍याएर एक हातले नमस्ते फर्काए । मैले हातको कागत उनका अगाडि राखिदिएँ । उनी मेरो नियुक्तिपत्र हेर्दैथिए, अर्का एकजना पातला मान्छे आइपुगे । उनले ‘उहाँ सरलाई भेट्नुस्’ भनेपछि म पातला सरतिर तेर्सिएँ ।
मेरा ती नमस्तेहरू खेर गएका होइनन् । झुक्किएका मात्र हुन् । मैले दूरसञ्चारमा जागिर खान थालेको पहिलो दिन नमस्ते गरेका पहिला व्यक्ति रहेछन् पियन हरेराम अधिकारी । उनी पुरोहित पेशा पनि गर्ने, पढेलेखेका । सधैं सफा दौरा सुरालमा चट्ट पर्ने । मैले एकपटक गरेको त्यो नमस्तेको सट्टा अहिलेसम्म पनि उनी मलाई भेट्नासाथ परैबाट नमस्ते गर्छन् । मैले त्यो दिन नमस्ते गरेका दोश्रा व्यक्ति रहेछन् मित्र शुभनारायण । हामी एउटै पदका रहेछौं । उनी अचेल हेटौंडातिर चुरोट उडाउँदै कतिलाई नमस्ते गर्दै होलान्, कतिका नमस्ते खाँदै होलान् । नमस्ते है शुभनायणजी !
हुन त नमस्ते जसले जसलाई गरे पनि हुन्छ । मेरो बिचारमा नमस्ते खान खोज्नेभन्दा नमस्ते गर्न खोज्ने ठूलो हो । तर पनि हाम्रो संस्कृति परम्पराले आफूभन्दा ठूलालाई नमस्ते गर्न सिकाएको छ । ठूलै मान्छे सम्झेर त्यसरी गरिएका नमस्तेले कहिलेकाहीँ नमस्ते गर्ने र खाने दुवै पक्षलाई लज्जित पनि बनाउने गर्छ, अप्ठ्यारोमा पार्छ । नमस्तेको बिजोग हुने यस्ता घटनाहरू भइरहन्छन् । एकभन्दा बढी व्यक्तिहरूको समूहमा आफूले एकजनालाई ताकेर नमस्ते गर्‍यो, अर्कैले चाहिँ नमस्ते फर्काउँछ, अथवा कसैले आफूलाई नै नमस्ते गर्‍यो भन्ठानेर दङ्ग पर्दै नमस्ते फर्कायो, नमस्तेकर्ता आएर अर्कैसँग हात मिलाउँछ, कुरा गर्छ । आफू त हिस्स ।
नमस्तेको नास हुने अरु पनि घटनाहरू म सम्झन्छु । मेरो संस्थानका एक भूतपूर्व महाप्रवन्धक थिए । मलाई नाम लिन उचित लाग्दैन । हामी श्रद्धापूर्वक उनलाई नमस्ते गथ्र्यौं । उनी नमस्कार फर्काउनु त कता हो कता मुन्टो अर्कातिर फर्काएर हिड्थे । केही पटक यस्तो घटना भएपछि मैले तिनलाई नमस्ते गर्नै छाडिदिएँ । नमस्तेको अपमान गर्ने मान्छेलाई म दम्भी ठान्छु । आफूलाई ‘हाकिम’ ठान्नेहरूमा त्यस्तो चरित्र पाइन्छ । स्वाभिमानी व्यक्तिहरूले त्यस्ता घमण्डीहरूलाई नमस्ते गरेर नमस्तेको नास गर्नु हुँदैन ।
कोही कोही हुन्छन् विनम्रताका खानी । खोजी खोजी नमस्ते गरौं जस्ता । मेरा छिमेकमा एकजना झापाली बुबा हुनुहुन्छ, मेरै बुबाको उमेरका । कतै भेट्यो कि आफूले हात उठाउन नभ्याउँदै नमस्कार गर्नुहुन्छ । उहाँको त्यो एउटा नमस्तेले मलाई तबसम्म सकस पारिरहन्छ जबसम्म उहाँलाई भेटेर म पहिले नमस्ते गर्दिन ।
नमस्ते हाम्रो विनम्रता हो । संस्कृति हो । यसको मान गर्नु आफ्नै सम्मान गर्नु हो । नमस्ते चाहिने व्यक्तिले त्यसको सम्मान गर्नुपर्छ । हाम्रो नमस्ते धेरै सजिलो र वैज्ञानिक पनि छ । जापानीहरूको जस्तो पूरा शरीर झुकाएर निहुरिएर पनि गर्नु पर्दैन । अंग्रेजहरूको जस्तो हात अँठ्याएर समात्नु पनि पर्दैन, अंगालो मारेर किस खानु पनि पर्दैन । हाम्रै तथाकथित घरानियाँहरूको डाडु जस्तो हात बनाएर निधारमा लगेर ‘दर्शन’ गर्नुभन्दा अथवा ब्राह्मणवादी पुरानो प्रचलन अनुसार गन्धे खुट्टामा निधार टाँस्नुभन्दा परपरैबाट समुस्कान नमस्ते गर्नु धेरै सरल, सहज र सम्मानजनक लाग्छ मलाई । तर यस्तो राम्र्रो संस्कृति र परम्परालाई नमस्ते गर्ने र खाने दुवै पक्षले उत्तिकै गम्भीरताका साथ लिएर यसको सम्मान गर्नुपर्छ ।
‘नमस्तेको नास’ शीर्षकको यो संस्मरण यतिकैमा सकिएको थियो । यो रचना तयार गरेर कलम बन्द गरेको भोलिपल्ट साँझ मेरा केही थान नमस्ते नराम्रोसँग नास भए । त्यो नरमाइलो घटना यहाँ उल्लेख गर्नेपर्ने भयो ।
एकजना गाउँले भाइको विवाहको भोजका लागि एउटा होटलमा म गएको थिएँ । थुप्रै साथीभाइहरूको जमघट थियो । मेरा घनिष्ट मित्र हिक्मत कार्की अलि अवेला पारेर सपत्नी कार्यक्रममा आइपुगे । उनी आएर एउटा हुलमा मिसिए । म नजिक गएँ र हात मिलाएँ । भाउजू अलि पर्तिर नानी बोकेर कसैसित गफ गर्दै हुनुहुन्थ्यो । मैले ‘भाउजू नमस्ते’ भन्दै हात जोडेँ । भाउजूले देख्नुभएन । उहाँले मतिर हेरेको जस्तो लागेर फेरि नमस्ते गरेँ । उहाँ अर्कोतिर फर्किनुभयो । मैले नमस्ते गरेको र उहाँले नदेख्नुभएको अरुअरुले दखेको हुँदा अब मैले अगाडि गएर कोट्याएरै नमस्ते गर्नुपर्ने भयो । म अघि बढ्नै लागेको थिएँ, हिक्मतजी छेक्न आइपुगे । उनले बिस्तारै सोधे ‘कसलाई मरिहत्ते गरेर नमस्ते गरेको ?’
मैले भनेँ ‘भाउजू होइन ?’
‘होला कसैको । मैले त श्रीमती लिएर आएको छैन ।’
थुक्क मात्ताङ् ! क्या लाजमर्नु भो । ती ‘भाउजू’ ले धन्य देखिनछन् । तर हिक्मत लगायत ५-७ जनाले मेरो नमस्तेको सत्यानास भएको देखे । मलाई साह्रै लाज लाग्यो । माघको त्यो ठण्डीमा पनि मलाई पसिना आयो । आफ्नु बाल्यकालदेखिको घनिष्ठ साथीकी श्रीमती पनि नचिन्नु ! यो हिक्मत पनि उस्तै ! एक त धेरै ढिलो बिहे गर्‍यो, त्यही माथि भाउजूसँग एक दुई पटक बाहेक भेटघाट पनि भएको होइन । अनि हुँदैन त नमस्तेको विजोक ! त्यो पनि होटलभित्रको मधुरो उज्यालोमा । मैले अलिकति चित्त बुझाएँ । तर मलाई खपिनसक्नु अप्ठ्यारो अनुभव भयो । म बिस्तारै साथीहरूका आँखा छलेर घरतिर टाप कसेँ ।
जिन्दगीमा अझै कति नमस्ते गर्नुछ, कति नमस्ते खानु छ । आउँदा जाँदा फेरि फेरि हालौंला नि यस्ता कथा, हुन्न ? आजलाई नमस्ते !
Onlinekhabar.com 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger