महेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

सप्तरी, माघ ११- राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोडफोड हुन थालेपछि आज बिहानैदेखि क्याम्पसमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ। क्याम्पसमा आन्दोलनरत आंशिक शिक्षक तथा स्ववियु पदाधिकारीबीच भएको झडपपछि हिजो क्याम्पसमा तोडफोड भएको थियो। 
आन्दोलनरत आंशिक शिक्षक र स्ववियु पदाधिकारीहरुबीचको विवादको क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका सम्पूर्ण फर्निचर तोडफोड भएको थियो। तोडफोडका कारण रु एक लाखभन्दा बढीको क्षति भएको छ। 
आजपनि थप झडप हुन सक्ने भएकोले क्याम्पसमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको र क्याम्पस परिसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापकरुपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
क्याम्पसले शिक्षक आह्वानका लागि निकालेको विज्ञापनपछि शिक्षक नियुक्ति गर्न अन्तर्वार्ता लिइरहेको अवस्थामा क्याम्पसमा विवाद भएको हो। अन्तर्वार्ता लिनुअघि नै क्याम्पसमा पुगेका आंशिक शिक्षकहरुले अन्तर्वार्ता सुरु हुनासाथ आक्रमण गर्न खोज्दा उपस्थित प्रहरीको टोलीले सबैलाई नियन्त्रणमा लिँदै लाठी खसेको थियो। 
यसक्रममा आक्रमण गर्न आएका र केही स्ववियु पदाधिकारीबीच झडप हुँदा आधा दर्जनभन्दा बढी घाइते भएका थिए। यसअघि गत माघ ४ गते आंशिक शिक्षकहरुले पठनपाठन अवरुद्ध गरेर समस्या खडा गरेको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा तोडफोड र आगजनी गरेका थिए। रासस

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger