कतारमा नेपालीको न्युनतम तलब १२ सय रियाल


१० माघ, काठमाण्डौं । सरकारले कतारमा जाने कामदारको न्युनतम तलव बृद्धि गर्दै माघ १५ देखि लागु गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष चार तहमा छुट्टाएर सोमबार राजपत्रमा सूचना प्रकाशित गरी सबै तहको न्युनतम तलब बृद्धि गरेको हो ।
जस अनुसार अदक्ष कामदारका न्युनतम पारिश्रमिक ९ सय रियाल र खाना भत्ता ३ सय गरी १२ सय रियाल (करीव २८ हजार ३ सय) तोकिएको छ । अर्धदक्ष कामदारको पारिश्रमिक ११ सय र खाना भत्ता ३ सय गरी १४ सय, दक्ष कामदारको १५ सय र खाना भत्ता ३ सय गरी १८ सय र उच्च दक्ष कामदारको न्युनतम पारिश्रमिक ४२ सय र खाना भत्ता ५ सय गरी ४७ सय निर्धारण गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिनपछि निर्णय लागु हुने राजपत्रमा उल्लेख छ । खाडीमा नेपाली दूतावास भएका साउदी अरब, युएई र कुवेत (हाउसमेडको) तलब बृद्धिपछि मन्त्रालयले कतारको तलव बढाएको हो । नेपाली दूतावास कतारले न्युनतम पारिश्रमिक बृद्धि लागि तलबमान सिफारिस गरी पठाएको छ महिनापछि मन्त्रालयले बृद्धि गरेको कान्तिपुर दैनिकमा खबर छ ।
‘बृद्धि केही ढिलो भए पनि दूतावासको सिफारिसअनुसार नै भएको छ,’ मन्त्रालयका अधिकारीले भने । दूतावासले साउन २८ मा तलब बृद्धिको लागि सिफारिस गरेको थियो । कतारमा २००९ देखि अदक्ष कामदारको न्युनतम तलव ६ सय र खानाको २ सय गरी ८ सय रियाल तोकिदै आएको छ । हाउसमेडको लागि १ हजार रियाल तोकिएको छ । अहिले अदक्ष कामदारको तलब र खाना भत्ता पहिला भन्दा ५० प्रतिशत बृद्धि भएको छ । अन्य कामदारको १० देखि ५० प्रशिसत बढेको छ । कतारमा हाल कार्यरत नेपाली मध्ये ७० प्रतिशत कामदार अदक्ष छन् ।
मन्त्रालयले न्युनतम पारिश्रमिक ओटी (अतिरिक्त समय ) भत्ता बाहेकको रकम भएको जनाउँदै रोजगारदाताले खाना निशुल्क दिनुपर्ने, खाना नदिए भत्ता स्वरुप उच्च दक्षलाई ५ सय र अरु तहकालाई ३ सय रियाल दिनुपर्ने निर्णय गरेको छ । कामदारलाई आवास, औषधी उपचार, दुर्घटना बीमा, काममा जाने-फर्किने यातायात र अन्य खर्चहरु कतारको श्रम कानुन अनुसार रोजगारदाताले ब्योहार्नु पर्ने निर्णय राजपत्रमा प्रकाशित छ ।
हालै कतार गएर आएका श्रम मन्त्रालयको वैदेशिक रोजगार तथा श्रम सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव विनोद केसीसंग त्यहाँ कार्यरत कामदारले तलव बृद्धि गर्न ढिलाई गर्न नहुने बताएका थिए । ‘तलब बृद्धि हुन किन ढिलाई भएको छ भनेर सोधे,’ केसीले भने ,’ढिलै भए पनि बेसिक स्यालरी (न्युनतम तलब) बृद्धि भएको छ, यसले ओटी पनि बढाउँछ ।’ कतारमा तलव बृद्धिबाट कामदारले पाउने लिभ पे (बिदा रकम) र ग्राचिटी (उपदान) समेत बृद्धि हुन्छ । मन्त्रालयले कतारमा कार्यरत कामदारको तलव बृद्धि गराउन दूतावास र व्यवसायीले पहल गर्नुपर्ने भनेको छ । कामदारको तलव बृद्धिसंगै उनीहरुले पठाउने रेमिट्यान्समा समेत बृद्धि हुन्छ ।
कतारस्थित नेपाली दूतावासले आफुहरुको सिफारिस अनुसार नै बृद्धि भएको सुनेको जनाउँदै राजपत्रको सूचना अनुसार नै कामदारको माग पत्र प्रमाणिकरण गर्ने बताएको छ । ‘अहिलेको महँगी र छिमेकी देशमा बृद्धि भए अनुसार ढिलै भए पनि तलब बृद्धि भएको सुनेका छौं,’ राजदुत मायाकुमारी शर्माले भनिन, ‘राजपत्रमा सूचना प्रकाशित भएअनुसार हामी यसलाई लागु गछौं ।’ सन् २०२२ को विश्व कप आयोजक राष्ट्र कतारमा कामदारको माग बढ्दो छ । हाल कतारमा साढे ३ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger