अमेरिकाले आफूमाथि प्रमुख डिजिटल आक्रमण हुने विश्वसनीय प्रमाण फेला पारेमा यस्तो आक्रमण हुननदिन आफैँले आक्रमण गर्नसक्ने र यस्तो आक्रमणको आदेश दिने अधिकार अमेरिकी राष्ट्रपतिलाई भएको निष्कर्ष एक गोप्य कानुनी पुनरावलोकनमा निकालिएको समाचार न्यु योर्क टाइम्सले सोमबार दिएको छ ।
वासिङ्टन पोस्टले हाल साइबर कमान्डमा ९०० कर्मचारी रहेकोमा आउँदा दिनमा चार हजार ९०० सैनिक तथा कर्मचारी रहने उल्लेख गरेको छ । गत नोभेम्बर महिनामा प्रतिरक्षामन्त्री लेओन पेनेटाले अमेरिकी साइबर सुरक्षामा थप वित्तीय सहयोग तथा मानवीय संसाधन आवश्यक भएको बताउनुभएको थियो । गत गृष्ममा साउदी अरेबियाको सरकारद्वारा सञ्चालित तेल कम्पनीका ३० हजार कम्प्युटरका तथ्याङ्क मेट्ने गरी भाइसर पठाइ आक्रमण भएको देखिएको थियो ।
साइबर युद्धकला विकासका लागि केन्द्रीय गुप्तचर संस्था हेर्नका लागि मनोनयन हुनुभएका जोन ब्रेनानले मुख्य भूमिका खेल्नुभएको द टाइम्सले उल्लेख गरेको छ । राष्ट्रपति ओबामाले इरानको पारमाणविक संयन्त्रमा यस प्रकारको कारवाही गर्न आदेश दिनुभएको पनि पत्रिकाले उल्लेख गरेको छ ।
पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमै पेन्टागनमा ओलम्पिक गेम्स नाम दिइएको यस्तो कारवाही भएको र यसबाट अन्य मुलुकमा बम आक्रमण नगरिकनै तथा आक्रमणकारी नपठाइकनै त्यहाँको संरचनालाई नष्ट बनाउन सकिने देखिएको पत्रिकाले उल्लेख गरेको छ ।
पुनरावलोकनमा भाग लिएका अमेरिकी वरिष्ठ अधिकारीहरूले साइबर हतियार पनि पारमाणविक हतियार जस्तै शक्तिशाली हुने र यसलाई सेनाप्रमुखको प्रत्यक्ष आदेशमा मात्र उपयोग गर्न सकिने ठानेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार कनै पनि मुलुकले आफूलाई चुनौतीबाट जोगाउनसक्ने देखिन्छ र अमेरिकाले यो सिद्धान्त अवलम्बन गरेको बताइएको छ ।
नयाँ निर्देशिकाअनुसार पेन्टागनले अमेरिकी कम्पनी तथा व्यक्तिको कम्प्युटरमा सामान्य साइबर आक्रमण हुँदा पेन्टागन संलग्न नहुने र यसका लागि गृहसुरक्षा विभागले जिम्मेवारी लिने बताइएको छ । यसो भए पनि अमेरिकाभित्रै प्रमुख साइबर आक्रमणमा सेना संलग्न रहने पनि उक्त पत्रिकाले उल्लेख गरेको छ ।-रासस

0 comments:
Post a Comment