एउटा चलचित्रमा निर्देशक शोभित बस्नेत विभिन्न रुपमा देखिन्छन् । चलचित्रको निर्माता, निर्देशक, लेखक, नृत्य निर्देशक लगायतका विधामा शोभितले हात हालिसकेका छन् । शोभितका छोरा सलोन बस्नेत पनि सिनेमा नगरीमा चम्कने दाउँमा छन् । बाल्यकालमा थुप्रै सिनेमामा अभिनय गरेका सलोनले चलचित्र ‘होस्टेल’ मार्फत सिनेमा नगरीमा नायकको रुपमा डेब्यु गर्दैछन् । ‘होस्टेल’ मा नायकको रुपमा उभिन लागेका सलोन यसै सिनेमा मार्फत गायक, गीतकार र संगीतकारको रुपमा पनि उदाउँदैछन् ।
उनले चलचित्रमा समावेश ३ गीतमा संगीत दिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा समावेश ‘जय जय महादेव’ बोलको गीतको रेकडिङ हालै मात्र सम्पन्न भएको छ । सलोनले ‘जय जय महादेव’ बोलको धार्मिक गीतलाई आधुनिक ढंगले प्रस्तुत गरेका छन् ।
सलोनले यसअघि चलचित्र ‘मन’ मा समावेश एक गीतमा आवाज भरिसकेका छन् । सलोनले आफ्नै व्यान्डको स्थापना समेत गरेका छन् । आफ्नै व्यान्ड मार्फत थुप्रै स्टेज कार्यक्रममा उनले गीत गाइसकेको निर्देशक शोभित बस्नेतले अनलाइनखबरलाई बताए ।
सुनिल रावलको निर्माणमा तयार हुन लागेको चलचित्र ‘होस्टेल’- अ कुल प्लेस टु ह्याङ आउट) मा भुवनका छोरा अनमोल केसी, टिका पहाडीका छोरा गौरब पहाडीले अभिनय गर्दैछन् । चलचित्रको छायांकन माघको २९ गतेबाट सुरु हुदैछ ।

0 comments:
Post a Comment