जाँदा डान्सर आउँदा बिरामी

VIDEO

--> //


१७ फागुन, काठमाण्डौं । उनलाई सपना देखाइएको थियो— दुबईमा तीन महिना डान्स गर्दा करिब ५ लाख रुपैयाँ आउँछ । विदेशी रमझम अलग । तर डोटीकी यी चेलीका सपना दुबई पुगेको रातदेखि तुहिन थाले । फर्कंदा उनले नगदको साटो रोग लिएर आउनुपरेको छ । शरीर आधा नचल्ने उनी मंगलबार एयर अरेबियाको उडानमा हल न चल भएर त्रिभुवन विमानस्थल आइपुगिन् । उनलाई त्यहाँबाट सोझै थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइयो ।
उनलाई सुन्धारास्थित काठमाडौं मलमा कस्मेटिक्स पसल गर्ने नवीन दाहालले गत पुस २१ मा दुबई पठाएका थिए । दाहालले मासिक १ लाख ६० हजार रुपैयाँ पाउने लोभ देखाएका थिए । उनी बहकिइन् । त्यहाँ उनलाई एस्टोरिया होटलको सुरसंगम रेस्टुरेन्टमा काम लगाइयो, तर डान्सबारमा गर्दागर्दै उनको खुट्टामा समस्या सुरु भयो ।
‘आराम गर्न खोज्दा जबर्जस्ती काम लगाउँथे,’ नर्भिकको शय्याबाट उनले भनिन्, ‘पेन किलर खान लगाएर डान्स गराउँथे ।’ उनका अनुसार उक्त रेस्टुरेन्टले उनलाई दाहालबाट १ लाख ६० हजार रुपैयाँमा किनेको बताउने गरेको थियो । ‘नाच्न सक्तिनँ भन्दा तँमाथि ठूलो रकम लगानी भएको छ, त्यो उठाउनुपर्छ भन्थे,’ उनले प्रहरीलाई भनेकी छन्, ‘नाचेर कमाउन नसक्ने भए अरूसँग अनैतिक सम्बन्ध राखेर भए पनि कमाउनुपर्छ भनेर जबर्जस्ती गर्थे ।’
उनलाई नाच्न नसकेको भन्दै चिसो भुइँमा सुताउने, खान राम्रो नदिने गरिएको थियो । आफूलाई स्वास्थ्यले साथ नदिएपछि उनले नेपाल फर्काइदिन रोईकराई नगरेकी थिइनन् । तर रेस्टुरेन्ट सञ्चालकले ‘३ लाख ५० हजार रुपैयाँ दिने भए मात्र देश फर्काइदिने’ भन्ने गरेका थिए । अनि उनले रेस्टुरेन्ट सञ्चालकमार्फत नेपालमा रहेका एक साथीलाई फोन गरेर त्यति रकमको जोहो गर्न लगाएपछि उनको उन्मुक्तिको बाटो खुलेको कान्तिपुर दैनिकमा खबर छ।
‘त्यो रेस्टुरेन्टको सञ्चालककी श्रीमतीको भाइलाई यिनीहरूले नगद उपलब्ध गराइदिएका थिए,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकृतले भने, ‘रकम पाएपछि पनि उनलाई फिर्ता ल्याउन तदारुकता देखाइएन, उल्टो पैसा कम भएको भन्दै शारीरिक र मानसिक दबाब दिइयो ।’
रेस्टुरेन्ट सञ्चालक आलम नसिरकी पत्नी लक्ष्मी भन्ने माया शाह नेपाली हुन् । उनले नेपालमा सम्पर्क व्यक्तिमार्फत र आफू स्वयं आएर डान्सबारका लागि युवतीहरू छानेर लैजाने गरेको प्रहरीले जनाएको छ । शाहले उनका भाइ वीरेन्द्रबहादुरलाई ती डोटेली चेलीलाई नेपाल फर्काउने रकम लिएका थिए । १ लाखको चेक र ५० हजार रुपैयाँ नगद लिएर पनि नछोडेपछि परराष्ट्र मन्त्रालयमार्फत उनलाई नेपाल फर्काइएको हो ।
उनलाई पर्यटक भिसामा डान्सबारमा काम गर्न पठाउने दाहाल र शाहलाई अपराध महाशाखाले पक्राउ गरेको छ । पीडित युवतीका भाइले दुवैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा किटानी जाहेरी दिएका छन् ।
दाहालको ज्याठामा टीएनएन नामक ट्राभल एजेन्सी छ । काठमाडौं मलमा ‘द न्यु लेडी कलेक्सन’ नामक पसल छ । पहिले आफैं डान्सर रहेका दाहालले राजधानीका डान्सबारबाट राम्रा युवतीहरूलाई लालच देखाउँदै मलेसिया, सिंगापुर र दक्षिण अफ्रिकासमेत  पठाउने गरेको प्रहरीले  जनाएको छ ।




--> //

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger