मनोज अधिकारी, पोखरा, माघ २२ - पर्यटकीय फेवातालबीचको तालबाराही मन्दिर ढल्ने अवस्थामा पुगेको छ। टापुको दक्षिण-पश्चिम कुनाको पर्खाल चर्किएर ढल्नै लागेपछि मन्दिर खतरामा परेको हो। मन्दिर संरक्षण समितिका उपाध्यक्ष मित्रलाल पहारीले तत्काल पर्खाल मर्मत नगरे जुनसुकै बेला मन्दिर ढल्ने अवस्था रहेको बताए। पर्खाल जोगाउन उपत्यका नगरविकास समितिको प्राविधिक सल्लाहबमोजिम समितिले जिल्ला प्रशासन कार्यालयमा दुई साताअघि मर्मतसम्बन्धी प्रस्ताव पेस गरेको छ। तालको पानी कम्तीमा ६ फिट (दुई मिटर) घटाई आरसिसी ढलान गरी पर्खाल जोगाएर मन्दिर ढल्नबाट बचाउन प्रस्ताव गरिएको ताल संरक्षण समितिका उपाध्यक्ष पहारीले बताए।
विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहलसमेत गरिएको यो मन्दिर रहेको टापुको क्षेत्रफल तीन रोपनीभन्दा बढी छ। २०३९ सालमा मन्दिरको जिर्णोद्धारसँगै यसको क्षेत्रफल बढाउन तालमा पर्खाल लगाइएको थियो। त्यसयता मन्दिर र पर्खालको मर्मत गरिएको छैन।
तालबाराही मन्दिरको खतरापूर्ण अवस्थालाई लिएर आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा सरोकारवालाको बैठक बसेको थियो। बैठकले मन्दिर संरक्षणका लागि उपाय खोजी गर्न तत्काल एक अध्ययन समिति गठन गरेको छ। क्षेत्रीय सिँचाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख डिभिजन इन्जिनियर रामप्रसाद अर्यालको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले तालको पानी नखोली मर्मत गर्न सकिने प्रविधिको खोजी गर्नेछ। मर्मत लागत अनुमान गर्ने जिम्मेवारी पनि सोही समितिले पाएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले पानी खोल्ने विकल्प खोजी गर्न समिति गठन गर्दै १५ दिनभित्र सुझाव पेस गर्न निर्देशन दिएका छन्। समितिमा कास्कीका जिल्ला प्राविधिक, क्षेत्रीय सिँचाइ निर्देशनालयका अधिकृत, सहरी विकास तथा भवन डिभिजनका अधिकृत, पोखरा उपमहानगरपालिका र जिविसका अधिकृत, पर्यटन बोर्डका अधिकृत लगायत सदस्य छन्।
तालबाराही मन्दिर संरक्षण समितिले मन्दिर ढल्ने अवस्थामा पुगेकाले मर्मतका लागि प्रस्तावसहित प्रशासनमा माघ ७ गते निवेदन दिएको थियो। पोखरा उपत्यका नगर विकास समितिको रायबमोजिम जीर्ण पर्खाल मर्मत गर्न पिँधबाटै आरसिसी ढलान गर्नुपर्ने प्रस्ताव गरिएको र त्यसका लागि पानी खोल्नुपर्ने मन्दिर संरक्षण समितिका उपाध्यक्ष पहारीले बताए।
फेवातालबाट आश्रित विभिन्न निकायले भने पानी खोलेर मन्दिर क्षेत्रको मर्मत गर्ने प्रस्तावको विरोध गरेका छन्। उनीहरुले आधुनिक प्रविधिमार्फत तालमा आश्रित कुनै पक्षलाई असर नपर्ने गरी मर्मत गर्न सुझाव दिएका छन्। फेवातालमा सयौं ढुंगा व्यवसायी र स्थानीय माझी समुदाय आश्रित छन्। यसबाहेक बिरौटा फाँटको सिँचाइको स्रोत फेवातालको पानी हो। तालबाट लगिएको नहरको पानीबाट फेवा पावर हाउसमार्फत एक मेगावाट बिजुली उत्पादन हुँदै आएको छ।
सरोकारवालाले तालको पानी दुई मिटर घटाउँदा यसको सुन्दरता घट्ने, वातावरणीय प्रभाव देखिने, मत्स्य अनुसन्धान केन्द्र तथा व्यावसायिक मत्स्यपालनमा खतरा उत्पन्न हुने, बिरौटा फाँटको सिँचाइमा ठूलो असर पर्ने, पर्यटन व्यवसायमा नकारात्मक असर ल्याउने लगायत समस्या देखाएका छन्।
मन्दिरको अस्तित्व जोगाउन समितिले आन्तरिक स्रोतबाट करिब ४२ लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको छ। यसको लागत त्योभन्दा बढी लाग्ने भए बाह्य स्रोतको खोजी गर्नुपर्ने उपाध्यक्ष पहारीले बताए। दैनिक सयौं स्वदेशी-विदेशी पर्यटकले अवलोकन तथा दर्शन गर्ने मन्दिरमा चढेको भेटी संरक्षण समितिको नभई पुजारीको हुन्छ। मन्दिर परिसरमा राखेको दानपत्रको रकममात्रै समितिको आम्दानी हुने पहारीले बताए। उनका अनुसार मन्दिरका दानपत्रमा संकलित हुने औसत मासिक आम्दानी ३० देखि ३५ हजार रुपैयाँमात्रै छ।
प्रजिअ कोइरालाले तालसँग सम्बन्धित सरोकारवाला सबैका कुरा सुनेपछि पहिलो प्राथमिकता उचित प्रविधिको खोजीका लागि दिएका हुन्। उनले पानीलाई घेरेर मर्मत गर्न सक्ने प्रविधि फेला नपरेमात्र बाँध खोलेरै भए पनि मन्दिर जोगाइने बताए।
'सकभर विकल्पका रुपमा प्रविधि प्रयोग गरी कसैलाई असर नपारी मन्दिर संरक्षण गर्न प्राविधिक अध्ययन समिति गठन गरेका हौं,' कोइरालाले नागरिकसँग भने, 'तालको पानी दुई मिटर खोल्दा धेरैलाई असर पर्ने रहेछ। उचित प्रविधि फेला परेन भने पानी खोल्नुको विकल्प पनि हुँदैन।'
तालको दुई मिटर पानी खोल्ने हो भने त्यति नै पानी भरिन ९० देखि १ सय ५ दिन लाग्ने प्राविधिकको अनुमान छ। उपत्यका नगरविकास समितिका इन्जिनियर भुवनेश्वर तिमल्सिनाले पानी नखोली मर्मत गर्ने प्रविधि रहे पनि यो खर्चिलो हुने बताए।
'ठूलो पाइप गाडेर त्यसभित्रको पानी निकाल्दै त्यसमा सिमेन्ट हालेर संरक्षणको काम गर्न सकिन्छ,' उनले भने, 'पानी घटाएर गर्ने कामभन्दा यो अलि खर्चिलो हुन्छ।

0 comments:
Post a Comment