जातीय छुवाछुत गर्नेलाई १० हजार जरिवाना

 सल्यान जेठ २ – सार्वजनिक धारामा पानी छोएको निहुमा दलित महिलामाथि छुवाछुत गर्ने एक दम्पत्तिलाई जिल्ला अदालत सल्यानले १० हजार रुपैयाँ जरिवाना गरेको छ । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सार्वजनिक स्थानमा छुवाछुत गरेकामा दोषी ठहर गर्दै सेजवाल टाकुरा १ साहुटोलकी मेनुका राना र उनका श्रीमान् डिल्ली रानालाई १० हजार रुपैयाँ जरिवाना सुनाएको हो । अदालतले पीडित प्रेमा बस्नेत विकलाई २५ हजार रुपैयाँ क्षतिपुर्ति तिर्न राना दम्पत्तिलाई आदेश दिएको छ । चैत ३ गते बिहान धारामा पानी भर्ने क्रममा पानी छोएको निहुमा आफुमाथि हातपात भएको भन्दै सेजवालटाकुरा १ साहुटोल सल्यानमा डेरा गरी बस्ने दार्माकोट २ सल्यानका प्रेमा बस्नेत बिकले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिनुभएको थियो । आरोपी राना दम्पत्ति चैत ९ गते जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । धारा छोएको भन्दै मेनुका रानाले धारामा अभद्र व्यवहार गरेको र उनका श्रीमान डिल्ली रानाले कोठामै आएर हातपात गरेको बिकले उजुरी गरेका थिए । पीडित विक आफुले न्याय पाएकोमा खुसी हुनुहुन्थ्यो । ‘मलाई न्याय दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद’, बिकले भन्नुभयो, ‘यस्तो विभेद कसैले नगरुन् ।’ सल्यानमा जातीय छुवाछुत मुद्दा अदालतमा पुगेर टुंगिएको यो पहिलो घटना हो ।
-->
भिडियो हेर्नुहोस 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger