>
राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार आममाफीका लागि फारम लिन थालेको चार दिनमै ‘आउटपास’ बनाउनेको संख्या १३ हजार पुगेको हो । दूतावासले भीड थेग्न नसकेपछि स्वयंसेवी विभिन्न संघसंस्थासँग समन्वय थालेको छ ।
‘घर फिर्न आउटपास बनाउन आउनेको संख्या १३ हजार पुगिसकेको छ,’ राजदूत उदयराज पाण्डेले भने, ‘रियादमा ६ हजार तीन सय, जेद्दामा दुई हजार र दमाममा तीन हजार नेपालीले आउटपास बनाउन निवेदन दिएका छन् ।’
साउदीमा गैरकानुनी हैसियतका नेपाली कामदारको संख्या ७० हजार रहेको अनुमान छ । तीमध्ये ३० हजार भागेर काम गरेका नेपालीको राहदानी साउदी सरकारबाट दूतावास आइपुगेको छ । ती राहदानी सम्बन्धित कामदारलाई दिन दूतावासले वेबसाइट राख्न अपडेट गरिरहेको जनाएको कान्तिपुर दैनिकमा खबर छ ।
आममाफीपछि गैरकानुनी कामदारले स्वदेश फिर्न वा वैध भएर साउदीमै काम गर्न पाउनेमध्ये एक विकल्प रोज्न पाएका छन् । त्यस्ता कामदार अब पहिलेकै कम्पनीमा फर्कन वा हाल भागेरै काम गरिरहेकै कम्पनीको स्पोन्सरमा बस्न वा कम्पनीबाट गैरकानुनी प्रमाणित भएका कामदारले स्पोन्सर परिवर्तन गरेर काम गर्न पाउने व्यवस्था गरिएको राजदूत पाण्डेले बताए ।
आउटपासका लागि दूतावासमा बढेको भीडलाई सेवा दिन निकै कठिन भइरहेको छ । दूतावासले रियादबाहिर पनि दूतावासको पहुँच बढाउन सहयोगी खटाएको जनाएको छ । ‘दमाम र जेद्दामा सहयोगी खटाएको छ,’ राजदूत पाण्डेले भने, ‘अरूमा क्षेत्रका लागि प्रयास भइरहेको छ ।’
थोरै समयका लागि दिइएकाले यो आममाफीमा सबै कामदारलाई समेट्न निकै चुनौती रहेको दमाममा कार्यरत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष धर्म केसीले बताए । ‘भागेका कामदार विकट क्षेत्रमा छन्, उनीहरूलाई सूचना छैन,’ उनले भने, ‘अर्कोतर्फ उनीहरूलाई दूतावासको पहुँचमा पुग्न निकै कठिन छ ।’
उनका अनुसार दमाम, जेद्दाजस्ता ठाउँमा निश्चित सम्पर्क कार्यालय नभएकाले व्यक्तिगत कोठाबाट काम भइरहेको छ । दूतावासले निकै लामो समयपछि आममाफी दिइएकाले उपयोग गर्न सबैलाई अपिलसमेत गरिएको छ । ‘आममाफी नदिँदा अनिवार्य जेल बसेर घर फिर्नुपथ्र्यो,’ राजदूत पाण्डेले भने, ‘अब बिना जेल स्वदेश जान पाउने र वैध भएर साउदीमै बस्ने अवसर दिइएको छ । यसको उपयोग लिन सबैलाई आग्रह गर्छु ।’

0 comments:
Post a Comment