| नुवाकोटमा गोरु जुधाई सुरु |
हरेक वर्षको माघे संक्रान्तिमा जस्तै यसवर्ष पनि गोरु जुधाई प्रतियोगिताको लागि पहिलेदेखि नै तयारी शुरु भएको हो । सोमबार देशका अरु ठाउँबाट समेत गोरु जुधेको हेर्न मान्छे पुग्ने भएकाले तयारी त्यसै अनुसार गर्ने योजना थियो । स्थानीयस्तरमा हुने गोरु जुधाईमा स्थानीय राजनीतिक दलको पनि चासो र हस्तक्षेप हुने नै भयो । त्यसअनुसार एकीकृत माओवादी, कांग्रेस, एमाले लगायतका गाउँमा उपस्थिति रहेका सबै राजनीतिक दलले कार्यक्रममा चासो देखाए ।
फलस्वरुप आयोजक समितिको अध्यक्ष बन्न तीनवटै दलका नेताहरुले दावी गरे । कुनै एकजनालाई अध्यक्ष बनाउने विषयमा सहमति जुट्न सकेन । एकीकृत माओवादी र नेपाली कांग्रेस एकातिर तथा एमाले अर्कोतिर बाँडिए ।
पोहोरपरार गोरु जुधाउने ठाउँमा भन्दा अर्कै चन्दनी भन्ने ठाउँमा एकीकृत माओवादी र कांग्रेसको आयोजनामा तथा ठूलोपोखरीमा एमालेको आयोजनामा गोरु जुधाउने कार्यक्रम हुन लागेको छ ।
गोरु जुधेको हेर्न जान लागेकाहरु लौ गोरुभन्दा पहिले नै नेताहरु जुधे रे भनेर ठट्टा गर्दै दुवै ठाउँमा जम्मा भएका छन् ।
तीन ठाउँमा २५ हल गोरुको भीडन्त
गोरु जुधाईमा चर्चित हुँदै आएको नुवाकोटको तारुका र बेत्रावतीमा यसवर्ष २५ हल गोरुको भीडन्त हुँदैछ । तारुकाको चन्दनीमा १२ हल, ठूलोपोखरीम ८ हल र बेत्रावतीमा ५ हल गोरु जुधाउन लागिएको हो । भीडन्तमा उत्कृष्ट ठहरिने गोरुलाई माघको दोस्रो हप्ता राजधानी ल्याएर प्रतिष्पर्धा गराउने कार्यक्रम छ ।
गोरु जुधाई कार्यक्रम हेर्न नुवाकोटका बिभिन्न गाउँसगै आसपासका ठाउँ र राजधानीबाट समेत अवलोकनकर्ता तारुका र बेत्रावती पुगेका छन् ।
डाउनलोड गर्नुहोस

0 comments:
Post a Comment