बर्दिया, माघ १ – मध्य तथा सुदूरपश्चिम क्षेत्रका थारु समुदायले माघी पर्व धुमधामसंग मनाउँदैछ ।
एक हप्तासम्म मनाइने माघी पर्वमा आज माघी नुहाउने, चामलको पिठोबाट बनाइने ढिक्री लगायतका परिकार खाने, नाचगान गर्ने चलन छ ।
माघे संक्रान्तिका दिन खोला, नदीमा नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्ने गरिन्छ । थारु जातिको बाहूल्य रहेको पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा माघे संक्रान्तिलाई थारु समुदायले नयाँ वर्षको रुपमा पनि मनाउँछन् ।
माघी पर्वसंगै थारु जातीमा खेतबारी अधियाँ बटैंया लगाउने, गाउँको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्ने परम्परागत चलन पनि कायमै छ । माघे संक्रान्तिकै दिनदेखि अर्काको घरमा कमलरा, कमलरी राख्ने परम्परा भने केही वर्षयता हटेको छ ।
ठाकुरद्धारामा माघी मेला
माघी पर्वकै अवसर पारेर बर्दिया ठाकुरद्धाराको ठाकुरबाबा मन्दिरमा आइतबार बेलुकादेखि माघी मेला सुरु भएको छ । सोमबार विहान सबेरैदेखि ठाकुरबाबा मन्दिरमा दर्शन गर्ने र मेला भर्नेहरुको ठूलो घुर्इंचो छ । मन्दिर दर्शन गर्न यसवर्षदेखि सहज ब्यवस्था गरिएको र गत वर्षदेखि मन्दिर परिसरभित्रै नुहाउने कुण्डको समेत व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र खड्काले बताउनुभयो ।
यस्तै माघी पर्वकै अवसर पारी बर्दिया सोरहवाको बह्रैयातालमा पुस २८ गतेदेखि बह्रैया ताल माघी तथा कृषि महोत्सव शुरु भएको छ । बर्दियाको सबैभन्दा ठूलो ताल बह्रैयाको प्रचारप्रसारका लागि थारु समूदायको ठूलो पर्व माघीका अवसरमा महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा थारु संस्कृति, परिकार, भेषभूषा, राष्ट्रिय स्तरका कलाकरहरुको प्रस्तुतीका साथै चरा र माछाको अवलोकन गर्न पाइने छ । बर्दियाको बह्रैया ताल सिमसार क्षेत्रमा सूचीकृत ताल हो ।
तस्बिरहरु : भावुक योगी/उज्यालो
डाउनलोड गर्नुहोस

0 comments:
Post a Comment